पत्रकार सिङ्खडामाथि भएको आक्रमणको विरोध
चितवन, भदाैं १ : नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य एवं कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिङ्खडामाथि भएको आक्रमणको विषयलाई लिएर पत्रकार सम्बद्ध...
चितवन, भदाैं १ : नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य एवं कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिङ्खडामाथि भएको आक्रमणको विषयलाई लिएर पत्रकार सम्बद्ध सङ्घ सङ्गठनले विरोध जनाएका छन्। सिङ्खडालाई समाचार सम्प्रेषणको विषयलाई लिएर केही व्यक्तिले हातपात गरेका थिए।
सोही घटनालाई लिएर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, नेपाल प्रेस युनियन जिल्ला शाखा, प्रेस चौतारी नेपाल जिलला शाखा र प्रेस सेन्टर नेपाल जिल्ला शाखाले आज संयुक्त विज्ञप्ति जारी गर्दै सिङ्खडामाथिको आक्रमणको विषयलाई लिएर विरोध जनाएका हुन्।
महासङ्घका अध्यक्ष नारायणप्रसाद अधिकारी, पे्रस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्य र प्रेस सेन्टरका कोषाध्यक्ष किशोरचन्द्र सापकोटाले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भनिएको छ, 'समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानबिनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्ता व्यवस्थाको बेवास्ता गरी पत्रकारमाथि हातपात गरिएको घटनाको भत्र्सना गर्दछौँ।'
पत्रकारको पेसागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न मागसमेत पत्रकार सम्बन्ध सङ्घ संस्थाले गरेका छन्। विज्ञप्तिमा भनिएको छ, 'स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरण वनाउन र शान्ति सुरक्षाको प्रत्याभूतका लागि हामी स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौँ।'
सिङ्खडा प्रेस चौतारी नेपालका बागमती प्रदेश सहइञ्चार्जसमेत रहेका छन। नेकपा (एमाले) कालिका नगरपालिकाका उपाध्यक्ष दीपक लामिछानेले कुटपिट गरेको भन्दै लामिछानेसहित चार जनाविरुद्ध उनले प्रहरीमा किटानी उजुरी दिएका छन।












