‘पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो’

मस्काे, भदाै १ : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन्।
मङ्गलबार यहाँ भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताए। राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ भएकाे बताए।
रक्षामन्त्री सर्गेई शोइगुले पनि पेलोसीको ताइवान भ्रमणलाई ‘उत्तेजक अवतरण’ को संज्ञा दिँदै उक्त क्षेत्रलाई अस्थिर बनाउने अमेरिकाको अर्को कदम भएको बताए। चीनको चेतावनीलाई वेवास्ता गर्दै उनले गरेको ताइवान भ्रमण उत्तेजना भड्काउन गरिएको उनको कटु टिप्पणी थियो।
सभामुख पेलोसीले हालै ताइपेइ पुगेर राष्ट्रपति साई इङ्ग वेनसँगको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवर्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गर्नुभएको थियो। साथै उनले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेकाे थियो।
कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताउँदै आएको छ। अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ। उसले बेइजिङलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँगको अनौपचारिक रक्षा सम्बन्धलाई कायम राखेको छ।












