‘टेस्ट राइड’पछि मोटरसाइकल नै गायब
काठमाडौं, मंसिर १२ : कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्छन्। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सज....

काठमाडौं, मंसिर १२ : कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्छन्। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन्। होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ।
काठमाडौंमा यसैगरी टेस्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ। मोटरसाइकल धनी मिलन सुब्बाले ६ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखेका थिए। त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे।
बरालले किन्नु अगाडि ‘टेस्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै रुपमा स्वीकारे। टेस्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उनलाई मोटरसाइकल चोरी भएको आशङ्का गरे। र, तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरे।
प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै २० लाख चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो। पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताए।
बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए। उसले यसअघि पनि टेस्ट राइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको छ। बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत रहेका छन्।
महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म एक सय १८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए। (रासस)











