मनाङका घरघरमा हाइब्रिड स्याउ
मनाङ, भदाै १ : हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन्। उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक...
मनाङ, भदाै १ : हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन्। उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन्।
सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए। 'रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु। उत्पादन राम्रो छ। बजारमा पु¥याउन भने सडकका कारण समस्या छ,' उनले भने।
रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार÷पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उनले बताए। 'हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ,' उनले भने, 'यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ।'
यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुर्याउन सकिने उनी बताउँछन्। माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुर्याउने बेला भएको छ। विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन्। कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन्।
सहज रुपमा यहाँको स्याउ बजारमा पुर्याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उहाँहरुको भनाइ छ। सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ।
सडक सञ्जाल सहज बनाएर बजारमा पुर्याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ। नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ। तर, सडक यातायातको समस्याले बजारसम्म पुर्याउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ।












