Kathmandu Press

अर्घाखाँची बस दुर्घटना: मृतक १९ मध्ये ११ को सनाखत

सन्धिखर्क, मंसिर १२ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटना मृत्यु भएका १९ मध्ये ११ जनाको सनाखत भएको छ। दुर्घटनामा....

अर्घाखाँची बस दुर्घटना: मृतक १९ मध्ये ११ को सनाखत

सन्धिखर्क, मंसिर १२ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटना मृत्यु भएका १९ मध्ये ११ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत्यु भएका १९ जनामध्ये सन्धिखर्क नगरपालिका–७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, ५४ वर्षीय बलराम भट्टराई, शितगंगा नगरपालिका–२ झिर्राका ३७ वर्षीय सन्तबहादुर बस्नेत र २७ वर्षीया सीता बस्नेतको सनाखत भएको छ। उनीहरु मध्ये सन्तबहादुर बस धनी हुन भने सीता उनकी भाइबुहारी हुन्।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बाँसगढीका ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का छबिलाल गैह्रे, गुल्मीको धुर्कोट–२ का राजकुमार महतको सनाखत भएको छ। उनीहरुमध्ये राजकुमार प्रहरी जवान हुन भने ओमबहादुर बस चालक हुन्।

अर्घाखाँचीकै सन्धिखर्क नगरपालिका–७ की आठ वर्षीया मनिका खड्काको पनि सनाखत भएको छ। त्यस्तै, सनाखत नभएका पाँच–सात महिनाका शिशुको पनि दुर्घटनामा ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, अझै आठ जनाको सनाखत हुन बाँकी छ। उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको बुटबलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, अन्य चार जना घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस बुधबार सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो। तिव्र गतिमा रहेको बसलाई एक्कासी ब्रेक लगाउँदा अनियन्त्रित भएर भीरमा खसेको जनाएको छ।

प्रकाशित मिति: १०:२० बजे, बिहीबार, मंसिर १२, २०७६