Kathmandu Press

नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ छैनन् सुरक्षित

भजनी, साउन ३१ : कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ। सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको...
नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ छैनन् सुरक्षित

भजनी, साउन ३१ : कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ। सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको माओवादीको आक्रमणबाट जीर्ण बनेको प्रहरी चौकी अहिलेसम्म पनि त्यस्तै अवस्थामा छ। त्यसै जीर्ण भवनबाट प्रहरीले नागरिकको शान्ति सुरक्षा दिँदै आएको छ। प्रहरी चौकीको अझै स्तरोन्नति हुनसकेको छैन।
 
अस्तव्यस्त अवस्थामा रहेका भवनबाट नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि समेत काम गर्नुपरेको छ। नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैन। बर्सातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ। 'पानी परेपछि चुहिन्छ। राम्रोसँग सुत्न पाइँदैन। खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ। खाना पकाएर खान सकिने अवस्था छैन,' प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज रेवन्त बोहराले भने, 'नागरिकको सुरक्षाका लागि खटिएका हामी नै सुरक्षित छैनौँ। कुन बेला के हुने हो थाहा छैन। न खानाको टुङ्गो छ न बस्नको नै।'

भजनी नगरपालिका–८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि त्यो भन्दा फरक छैन। प्रहरीले करिब ४० वर्ष पुरानो  भवनबाट नागरिकको सुरक्षा गर्नुपरेको छ । त्यो पनि आफ्नै भवन होइन। भाडामा लिएर बस्नुपरेको  प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारी बताउछन। घर यति जीर्ण अवस्थामा छ कि घरको छत ढलानमा राखिएका सरिया देखिन्छन्।

Hardik ivf

त्यो भन्दा ठूलो समस्या पथरैया नदी प्रहरीका लागि बनेको छ। नदीको किनारमै प्रहरी चौकी भएका कारण बाढी आउँदा सबैभन्दा पहिले त्यही प्रहरी चौकी डुबानमा पर्ने गरेको छ। 'एकातिर बस्नको ठेगान छैन भने अर्कोतिर बाढी र डुबानको जोखिम त्यतिकै छ,' भण्डारीले भने, 'प्रहरी चौकीका लागि जग्गा छ तर भवन निर्माण हुनसकेको छैन।'
 
भजनी–५ पृथ्वीपुरमा रहेको प्रहरी चौकीको नाममा २३ बिघा जमिन छ। भारत सीमासँगै रहेको प्रहरी चौकी नाजुक अवस्थामा छ। छतका सरिया झरिसकेका छन्। त्यस्तै जटिल अवस्थामा बसेर प्रहरीले नागरिकको सुरक्षा गर्दै आएको छ। अहिलेको भवनले हिउँदको शीत पनि छेक्न नसक्ने प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापा बताउछन।

भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु भए पनि निर्माण सम्पन्न हुनसकेको छैन। भवन निर्माण सुरु भएको तीन वर्ष भइसक्दा पनि बजेट अभावका कारण भवन सम्पन्न  हुननसकेको हो। नगरपालिकाले बहुवर्षीय आयोजनाका रूपमा निर्माण गर्ने भनिएको भवन अहिले बजेट अभावमा अलपत्र परेको छ।

भवनको अवस्था देखेर भजनी नगरपालिकाले करिब रु ३६ लाख बराबरको सुविधा सम्पन्न भवन निर्माण गरिरहेको र छिट्टै निर्माण सम्पन्न गरेर प्रहरीलाई सो भवनमा व्यवस्थापन गर्ने भनिए पनि उपभोक्तामार्फत काम भएका कारण निर्माणमा ढिलाइ भएको छ। निर्माण सम्पन्न नभएकै भवनमा प्रहरी बस्दै आएको छ।  

जोशीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको अवस्था पनि त्यस्तै छ। भवनको व्यवस्थापन हुन नसक्दा सेवा लिन आउने सेवाग्राहीले समेत निकै सास्ती खेप्दै आएका छन्। कार्यालय परिसरभित्र बर्सातको समयमा डुबान हुने र परिसर हिलाम्मे हुने गरेको छ। बस्नका लागि निकै समस्या हुँदै आएको प्रहरीको गुनासो छ।

कैलारी गाउँपालिकास्थित सीमा प्रहरी चौकी रामपुरको कार्यालय कर्कटपाताले छाएको कच्ची घरमा रहेको छ। उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीलाई पनि हिउँदमा चिसो थेग्न गार्‍हो हुने गरेको छ। चैत वैशाख महिनामा हावाहुरीले घरको छाना उडाएर लैजान्छ कि भन्ने चिन्ताले सताउने गरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनक धानुक बताउछन। उनले गर्मी मौसममा गर्मी थेग्न नै मुस्किल हुनेगरेको बताए।

प्रकाशित मिति: २०:१८ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्