Kathmandu Press

सिसाको पुलसहितको साइकलमार्ग निर्माण हुने

सिसाको पुलसहितको साइकलमार्ग निर्माण हुने

इलाम, साउन ३१ : इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ। नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो। सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग निर्माण हुने बताइएको छ।

सुरुमा परियोजनाको कूल लागत रु सात करोड ५५ लाख अनुमान गरिए पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत रु १० करोड पुग्ने छ। सो मार्गले स्थानीय चार हजार आठ सय ७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ। एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउने छन्।

नगरपालिकाको रु सात करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवद्र्धन साझेदारी कोषको रु एक करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको रु एक करोड लागतमा साइकलमार्ग निर्माण हुनेछ।

गत जेठ ११ गते नगरपालिका र नवप्रवद्र्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक्ट तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिए। परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा एक सय ५० मिटर लामो सिसाको पुल निर्माण गरिने गदालको भनाइ छ। साथै लोपोन्मुख लेप्चाजातिको सङ्ग्रहालय स्थापना गरिने छ। परियोजनाको मन्युमेन्ट पार्क, हेल्थ पार्क र चारवटा शौचालय निर्माण गर्ने योजना रहेको छ।

साइकल मार्ग जिल्लाकै नयाँ परियोजना भएको बताइएको छ। जिल्लामै पर्यटकका लागि नयाँ उत्पादनका रूपमा विकास गर्न सकिने यो कार्यक्रमलाई नगरपालिकाले नै सञ्चालन गर्ने बताइएको छ। यो साइकलमार्ग निर्माण भएपछि नेपाली साइकलयात्री मात्र नभई विदेशबाट समेत पर्यटकहरु यहाँ आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्