अर्घाखाँचीमा बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट)
सन्धिखर्क, मंसिर ११ : अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।
....
सन्धिखर्क, मंसिर ११ : अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।
सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपरान्ह सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना भएको हो। दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार ज्यान गुमाउनेमा १० पुरुष, ७ महिला र एक बालक रहेका छन्।

मृतक १८ जना मध्ये अर्घाखाँची सन्धिखर्क–७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा–२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक अन्दाजी ३० वर्षीय वसन्त क्षेत्रीको मात्रै सनाखत भएको छ। अन्यको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

घाइते १४ जनामध्ये गम्भीर घाइते १२ जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने दुई जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ। घटनास्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका छन्।
बस सडकबाट झण्डै चार सय मिटर तल जंगलमा खसेको छ।






