Kathmandu Press

असारे विकास रोक्न भदौबाटै योजना कार्यान्वयन

टीकापुर, साउन ३० : कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन शुरु गरेको छ।नगरपालिकाले चालु आर्थिक वर्षका विकास...
असारे विकास रोक्न भदौबाटै योजना कार्यान्वयन

टीकापुर, साउन ३० : कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन शुरु गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षका विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन थालेको छ। भदौबाट योजना कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ।

टीकापुर–२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ। वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना गरेको छ। वडाले भदौ १ गतेबाट भदौ ७ गतेसम्म समिति गठन गरिसक्ने गरी काम थालेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिए।

Hardik ivf

भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको उनले बताए। सोहीअनुसार हामी भदौ ७ गतेसम्म गठन गरिसक्ने गरी तालिका बनाएर काममा लागेको वडाध्यक्ष चौधरीको भनाइ छ।

टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि कार्यालयको निर्देशनअनुसार वडामा सात उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले आफूहरु भदौ ४ गतेबाट उपभोक्ता समिति गठन कार्यमा जुट्ने जानकारी दिए। बाटो ग्राभेल, माटो पटानी, सडक निर्माणजस्ता कार्य उपभोक्ता समितिमार्फत गरिनेछन्। त्यसका लागि समुदायमा टोल भेला गरेर उपभोक्ता समिति गठन गर्ने तयारीमा जुटेको उनले बताए।

वडा नं १ मा अधिकांश विकास योजना ठेक्का प्रणालीबाट सञ्चालन गरिने र बाँकी योजनालाई विगतका दिनभन्दा केही फरक तरिकाले सञ्चालन गर्न समिति गठन गरिने वडाध्यक्ष मोहन विकले बताए। पालिकामा पूर्वाधारअन्तर्गतका भवन निर्माण, सडक कालोपत्रेजस्ता ठूला योजना बोलपत्रमार्फत सूचना गरेर ठेक्का प्रणालीबाट काम गरिने उनले बताए।

भदौ महिनामै उपभोक्ता समिति गठन गरेमा समयमै लागत अनुमान, सम्झौतालगायतका कार्य गरेर कात्तिक, मङ्सिरसम्म योजना सम्पन्न गरिसक्ने गरी काम गराउने तयारीमा पालिका रहेको छ। समयमै योजना कार्यान्वयन सुरु भएमा आवको अन्त्यमा हुने चाप घटाउने तयारीमा पालिका रहेको छ।

नगरपालिकाले नीतिगतरुपमै असार विकासलाई निरुत्साहित गरेको छ। पालिकाले भदौ महिनाबाटै योजना तथा बजेट कार्यान्वयन गरी वैशाख महिनालाई भुक्तानीको महिनाका रुपमा काम गर्ने योजना बनाएको बताएको छ।

नगरपालिकाले सबै वडामा भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ। नगरपालिकाले आवको सुरुआतमै सक्रिय भएमा आवको अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही बताए।

नगरपालिकामा यस वर्ष पूर्वाधारतर्फ एक सय ८५ योजना रहेका छन्। यी योजनामा साना योजना सडक पटानी, ग्राभेल, कल्भर्ट निर्माणजस्ता योजना उपभोक्तामार्फत र सडक कालोपत्रे, भवन निर्माणजस्ता ठूलो बजेटका योजना ठेक्कामार्फत सञ्चालन गर्ने गरिएका छन्। (रासस)

प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्