मुसहर दम्पतीलाई जग्गाधनी प्रमाणपत्र
सप्तरी, साउन २९ : सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेंगरी वरगोरियाका ११ भूमिहीन मुसहर परिवारलाई आज जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ।महुली सामुदायिक विकास...
सप्तरी, साउन २९ : सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेंगरी वरगोरियाका ११ भूमिहीन मुसहर परिवारलाई आज जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ।
महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा टेंगरीले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले जग्गाधनी प्रमाणपत्र वितरण गरेका हुन। भूमिहीन दम्पत्तिको संयुक्त नाममा जग्गाधनी प्रमाणपत्र दर्ता भएको छ। कार्यक्रममा उम्दा र फुलोदेवी सदा, सिफेद र कारोदेवी सदा, उमाकान्त र जितनी सदा, देवकान्त र दिलकुमारी सदा, विष्णुदेव र अनितादेवी सदा, जोगिन्द्रा र सोमनीदेवी सदा, रघुविर र लीलादेवी सदा, देवकान्त र सरिताकुमारी सदा तथा सरस्वतीदेवी सदालाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ।
गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाअन्तर्गत बाँकी रहेका अन्य भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकालाई छिट्टै जग्गाधनी प्रमाणपत्र प्रदान गरिने बताए। महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा ह्याविट्याट फोर ह्युमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा उक्त मुसहर बस्तीमा २० वटा घर निर्माणाधिन अवस्थामा छ। प्रतिघर चार लाख ५६ हजार सात सय ४८ रुपियाँको लागतमा घर निर्माण हुने महुली सामुदायिक विकास केन्द्रका उपाध्यक्ष आशाकुमारी चौधरीले जानकारी दिए। जसमा ह्याविट्याटले प्रतिघर एक लाख ९५ हजार, गाउँपालिकाले प्रतिघर दुई लाख र जनश्रमदानबाट प्रतिघर ६१ हजार सात सय ४८ गरी कूल ९१ लाख ३४ हजार नौ सय ३५ रुपियाँको लागतमा २० वटा घर निर्माण गरी स्थानीय भूमिहीन मुसहर समुदायलाई हस्तान्तरण गरिने योजना रहेको उनले बताए।












