Kathmandu Press

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

पर्वत, साउन २९ : फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको...
किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

पर्वत, साउन २९ : फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ।

किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको क्याप्सुल खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताए। 

Hardik ivf

नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका किशोरीको सङ्ख्या यति नै छ भन्ने तथ्याङ्क नभएको भए पनि यो अभियानको पहिलो चरण पूरा हुने बेलामा सङ्ख्या यकीन हुने उनको भनाइ छ। पहिलो चरणमा साउनदेखि असोजसम्मका १३ हप्ता र दोस्रो चरणमा माघदेखि चैतसम्मका १३ हप्ता गरी एक किशोरीले एक वर्षमा कूल २६ क्याप्सुल खाने छन्।

'यो अभियान हरेक वर्ष हुने छ, १० देखि १९ वर्ष उमेर समूहमा पर्ने हरेक किशोरीले यो क्याप्सुल खाएको हुनुपर्छ, वडामा रहेका स्वास्थ्यसंस्थामार्फत विद्यालयमा यो काम चलिरहेको छ,' स्वास्थ्य शाखा प्रमुख सापकोटा भने, 'पहिलो र दोस्रो चरण दुवै चरणमा हरेक वर्ष खाने हो, यदि कसैको पहिलो चरणमा छुटेको भएमा दोस्रो चरणबाट भए पनि सुरु गरेको हुनुपर्छ, तर यसमा कोही पनि छुट्दैनन्।'

क्याप्सुल खुवाउन हरेक हप्ता स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका विद्यालयमा पुग्नेछन्। नगरभरि नै अभियान चलेका कारण स्वास्थ्यकर्मीको अभाव भएमा विद्यार्थीको चाप केही कम रहेका विद्यालयमा भने शिक्षकलाई जिम्मेवारी दिएर क्याप्सुल खुवाइने छ।

‘जंक फुड’ तथा आफूले दैनिकरूपमा खाने भोजनमा पनि सन्तुलन नमिलाएका कारण धेरै किशोरीमा रक्तअल्पता र कुपोषणको समस्या देखिँदै गएका विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छन्।

किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ।

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्