Kathmandu Press

बनेपाको नयाँ गन्तव्य ‘ब्रम्हायणी पार्क’

बनेपा, साउन २९ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थित नालामा रहेको भूइँचालोडाँडामा अर्को नयाँ गन्तव्य बनेको छ।महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजको आयोजनामा भएको...
बनेपाको नयाँ गन्तव्य ‘ब्रम्हायणी पार्क’

बनेपा, साउन २९ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थित नालामा रहेको भूइँचालोडाँडामा अर्को नयाँ गन्तव्य बनेको छ।

महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजको आयोजनामा भएको महायज्ञबाट सङ्कलित रकममध्येबाट ‘ब्रम्हायणी पार्क’ निर्माणका लागि रु एक करोड पाँच लाखमा ठेक्का सम्झौता गरी सो पार्क निर्माण कार्य पूरा भएपछि सबैको अकार्षकको केन्द्र बन्ने आशा स्थानीय बासिन्दाको छ।

जिल्लाको पुरानो बजारमध्येको एक महत्वपूर्ण बजार नाला ऐतिहासिक तथा धार्मिक हिसाबले करुणामाई र नाला भगवती मन्दिरलगायतका मन्दिर नै मन्दिर रहेको नाला धार्मिक पर्यटनका हिसाबले थप आकर्षक बन्ने भएको छ।

Hardik ivf

निर्माणाधीन अवस्थामा रहेको पार्क अन्तिम चरणमा पुगेसँगै अहिले सो ठाउँमा घुम्न जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ। अब पार्क निर्माणकार्य सम्पन्न भएपछि धार्मिक पर्यटनको केन्द्र बन्ने स्थानीय बासिन्दा बताउँछन्। बनेपा–२ की सरिता रोक्काले पार्क निर्माणकार्य सुरु भएसँगै घुम्नका लागि धेरै मानिस आउने गरेको बताए।

'बनाउन सुरु गरेको पाँच÷छ महिना भयो, अब अन्तिम चरणमा पुगेको देखिएको छ, यो निर्माण सम्पन्न भएपछि घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुने सम्भावना बढ्दै गएको छ,' उनले भने।

अर्का स्थानीय बासिन्दा शङ्कर गौतम र वसन्त सञ्जेलले महायज्ञबाट सङ्कलन भएको रकमले पार्क निर्माणकार्य थालेपछि नालाको भुइँचालो डाँडाको मुहान नै फेरिएको बताए। राम्रो पार्क निर्माण भएकाले नाला पर्यटकका लागि आकर्षक केन्द्र बन्नेमा उनीहरुको विश्वास रहेको छ।

महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजमा अध्यक्ष पुरुषोत्तम सापकोटाले नाला क्षेत्रलाई धार्मिक पर्यटनको विकासमा थप टेवा पुर्‍याउन पनि सो क्षेत्रमा ब्रम्हायणीको पूर्ण कदको मूर्तिसहित पार्क निर्माण गरेको बताए।

नेपालमा अहिलेसम्म विष्णु, शिव, गणेश, भगवती, गौतमबुद्ध लगायको ठूला मूर्ति र पार्क छन्, तर ब्रम्हाको अहिलेसम्म यसरी ठूलो मूर्तिसहितको पार्क नभएकाले यो एउटा फरक खालको धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने उद्देश्यले पनि पार्क९उद्यान० निर्माण कार्य सुरु गरेको सापकोटाले बताए।

यसअघि २०७२ मङ्सिरमा रुद्रयज्ञ गरेर करिब रु एक करोड ७२ लाख रकम सङ्कलन भएकामा आयोजना खर्च कटाएर पार्क बनाइएको ठाउँको तल रहेको महादेवथानमा विभिन्न भौतिक संरचना निर्माण गरेर बाँकी रहेको रकमबाट ब्रम्हायणी पार्क निर्माण कार्य सुरु गरेको उनले बताए। अहिले सो ठाउँमा करिब ९० रोपनी क्षेत्रफलमा फैलिएमध्येको खाली क्षेत्रमा पार्कसहितको बगैँचा निर्माण गर्ने काममा समिति लागिरहेको छ।

नाला क्षेत्र देवीदेवताका मन्दिर नै मन्दिर भएको मात्र नभएर यस क्षेत्रमा ६४ वटा इनार, आठ वटा पोखरी, चार दिशमा गणेश र अष्टमात्रिका९चामुण्डा, कालिका, महेश्वरी, ब्रम्हायणी, अम्बिका० लगायतले घेरिएको र बीचमा उग्रचण्डी भगवती रहेको ठाउँ भएको धार्मिक क्षेत्र हो।

त्यस्तै नाला प्रवेश गर्ने ठाउँ सातद्वार९सात वटा ढोका० रहेको क्षेत्रसमेत रहेको ऐतिहासिक क्षेत्रका रुपमा नाला बजार परिचित छ। अहिले निर्माण गरिरहेको पार्कको पश्चिम क्षेत्रमा वृद्धवृद्धाका लागिसमेत हुनेगरी थेरापी पार्क निर्माण गर्ने र त्यसको माथि रहेको क्षेत्रमा परापूर्वकालदेखि रहेको ब्रम्हायणी मन्दिरको भग्नावषेश रहेको त्यससँगै पिकनिकपार्क निर्माण भइसकेको समितिले जनाएको छ।

वडा र नगरपालिकाको सहयोगबिना नै निर्माण भइरहेको काममा अब थप विकास गर्नका लागि स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको समितिका अध्यक्ष सापकाटाले बताए। नालाको सो क्षेत्र पुग्न बनेपा दोबाटोबाट करिब साँढे तीन किलोमिटर पार गरेपछि ब्रम्हायणी पार्कमा पुग्न सकिन्छ।

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्