Kathmandu Press

नदी कटान रोक्न बनाइँदै जैविक तटबन्ध

टीकापुर, साउन २९ : कैलालीको टीकापुर–८ का बासिन्दा नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन्।टीकापुर वडा नं. ८ वनगाउँस्थित सत्ती कर्णाली...
नदी कटान रोक्न बनाइँदै जैविक तटबन्ध

टीकापुर, साउन २९ : कैलालीको टीकापुर–८ का बासिन्दा नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन्।

टीकापुर वडा नं. ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन्।स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन्।

वनगाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ। स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन्।

Hardik ivf

स्थानीय बडघर रामप्रसाद चौधरी कर्णाली नदी फुटेमा वडा नं ८ पूरै डुबानमा पर्ने बताए। बडघर वनगाउँ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउँ, कर्मीडाँडा, रामडाँडा, सत्तीपुल र वडा नं ९ को पायलगाउँसमेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेका उनले बताए।

'गत वर्ष कात्तिकमा आएको बाढी यही ठाउँबाट बस्तीमा पसेको थियो, गत वर्ष वडा नं ८ पूरै डुबान भएको थियो। नदी फुटेको ठाउँ सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरेको थियो,' उनले भने, 'यस वर्ष पनि खतरा बढेको छ। त्यसैले हामीले सिँचाइ आयोजना र नगरपालिकाले बनाएको संरचना नबगोस् भनी तटबन्धमा जुटेका हौँ, नदीले कटान बढाउँदै लगेमा वडा पूरै सखाप हुनेछ।'

तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले आठ सय कट्टा र तारजाली उपलब्ध गराएको छ। नदीमा तीन मिटर बढी पानी भए पनि स्थानीय विकल्प नै भएको भन्दै आफैँ नियन्त्रणको प्रयासमा जुटेका बडघर चौधरीको भनाइ छ।

गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउँमा नदी फुट्दा वडा नं ८ पूरै डुबानमा परेको थियो। नदीको धार परिवर्तन भएर नदी बस्ती पस्दा बाढीपछि रानी–जमरा–कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्कँदै छ। यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेका वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए।

वडाध्यक्ष ठकुल्ला यहाँका नागरिकलाई हरेक वर्ष वर्षात्मा बाढीको त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन्। नदी कटानले विभिन्न बस्ती र सत्ती पुल नै जोखिममा रहेको उनले बताए।

टीकापुरको तल्लो तटीय क्षेत्रका नागरिकले हरेक वर्ष वर्षात्मा नदी कटान, डुबानको समस्या झेल्दै आएका छन्। नागरिकलाई नदीकै कारण तनाव झेल्नुपर्ने समस्याबाट राहत दिनेबारेमा सरकारले काम गर्नुपर्ने स्थानीय कुलबहादुर चौधरीको माग छ। (रासस)

प्रकाशित मिति: ०८:५१ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्