Kathmandu Press

राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र

बेनी, साउन २९ : बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र भएको छ।उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेबाट...
राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र

बेनी, साउन २९ : बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र भएको छ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेबाट वडा नं २ कुनौटो जोड्ने सडक कालोपत्र सकिएको हो।

आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले करिब पाँच किलोमिटर दूरीको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए। गत वर्ष पहिलो कोड बिछ्याएपछि वर्षात् हुँदा रोकिएको डिबिएसडी कालोपत्र गर्ने कामलाई यसपालि पूर्णता दिइएको उनले बताए।

राहुघाट–राहुपारे र कुनौटो–बेगखोला खण्डको बीचमा पर्ने करिब दुई किलोमिटर सडक आगामी हिउँदमा कालोपत्र गरिने दाहालले बताए। एघार मिटर फराकिलो बनाइएको सडकको सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको हो।

डिबिएडी प्रविधिमा दुई चरणमा बिटुमिन र चिप्स राखेर रोलरको पोल्नुपर्छ। कालोपत्र भएपछि करिब ४० मिनेटको यात्राअवधि १० मिनेटमा छोटिएको छ।

शर्मा–युनाइटेडले नै ठेक्का लिएको पहिलो खण्डको बेगखोला–भुरुङ तातोपानी खण्डमा पनि अधिकांश ठाउँमा विस्तार, नाली र पर्खाल निर्माण सकेर आगामी हिउँदमा कालोपत्र गर्ने तयारी भएको छ। गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको बेनी नगरपालिका–९ गलेश्वरको करिब एक किलोमिटर दूरीको सडकमा पहिलो चरणको कालोपत्र भएको छ।

२०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चारवटा खण्डमा स्तरोन्नति भइरहेको छ। तेस्रो प्याकेजमा पर्ने मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने १६ किलोमिटर सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र भएको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन) ले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०८:२६ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्