Kathmandu Press

उपनिर्वाचनका समयमा मदिरा सेवन र बिक्री वितरण गर्न नपाइने

लहान, मंसिर ११ : मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा मदिराजन्य पदार्थको सेवन तथा....

उपनिर्वाचनका समयमा मदिरा सेवन र बिक्री वितरण गर्न नपाइने
सांकेतिक

लहान, मंसिर ११ : मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने वडा नम्बर १२ मा बुधबारदेखि उपनिर्वाचन सकिएको भोलिपल्ट मंसिर १५ गतेसम्म मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन मदिरा तथा मदिराजन्य पदार्थको सेवन, बिक्री वितरणबाट असर पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्तो निर्णय लिइएको प्रजिअ अधिकारीले बताए। 

यसका साथै उपनिर्वाचनलाई मध्यनजर गरी निर्वाचनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको र निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आवश्यक सबै तयारी भइसकेको उनको भनाइ छ। यस्तै उपनिर्वाचन हुने मतदान केन्द्रमा आज साँझबाट मतदान अधिकृत खटिन लागेको छ। उपनिर्वाचन हुने कल्याणपुर नगरपालिका–१२ को चार वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बुधबार साँझबाट मतदान केन्द्रमा खटिने जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिए। 

यसैबीच उपनिर्वाचनको मौनअवधि शुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सिरहाको कल्याणपुर नगरपालिका–१२ मा यतिबेला उम्मेदवार तथा दलका नेता कार्यकर्ता अन्तिम चरणको प्रचारप्रसारमा जुटेका छन्। मंसिर १४ गते शनिबार कल्याणपुर नगरपालिका–१ का वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। मौनअवधि आज राति १२ बजेबाट शुरु हुनुअघि नै उम्मेदवारलाई मतदाताको घर घरमा पुग्न चटारो छ। सो वडाको वडाध्यक्ष पदका लागि विभिन्न आठ दल तथा स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदान छन्।

मौनअवधि शुरु हुनु अघि नै घरदैलो र सभा गरी सक्ने गरी उम्मेदवार आज बिहानैदेखि घरदैलोभरीमा व्यस्त छन्। वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट दिलीपकुमार यादव, नेपाली कांग्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीपकुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो अताउल रहमान, राप्रपाबाट मो वसिर राइन र राप्रपा संयुक्तबाट मो अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदा चुनावी परिणाम आफ्नो पक्षमा पार्ने गरी प्रचारप्रसार र घरदैलोमा जुटेका छन्।

यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामअशिष सिंह, गौरीशङ्कर यादव, हेबु मुखिया पनि स्वतन्त्र हैसियतमा चुनावी दौडमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदमा  काँग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनमा तिलासी बेलहामा ७४९ र विष्णुचरण आधारभूत विद्यालय बेलहा (क), (ख) र (ग) मा दुई हजार ७०० एक गरी कूल तीन हजार ४५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ। पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर–१२ मा १८० मतदाता थपिएका छन् । जसमध्ये एक हजार ७०० पुरुष र एक हजार ६८३ महिला रहेको जनाएको छ। रासस

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, मंसिर ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्