विषाक्त मदिरा सेवनबाट विहारमा पाँचजनाको मृत्यु
सारण, साउन २८ : भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ। राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको...
सारण, साउन २८ : भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ। राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन्।
घरेलु मदिरा सेवन गरेका कारण उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यद्यपि त्यो यकिन भइनसकेको र अनुसन्धान जारी छ। शल्यपरीक्षणका निम्ति शव सारण अस्पताल लगिएको छ। मृत्युको कारण पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पठाइएको छ।
विषाक्त मदिरा सेवन गरेका अन्य तीन जना सिकिस्त बिरामी भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विषाक्त मदिराबाट सर्वसाधारणको मृत्यु भएपछि प्रहरीले घटनास्थल वरपर छापा मारेर १० देखि १२ जनालाई पक्राउ गरेको छ।
यही साउन २० गते विषाक्त मदिरा सेवनबाट सोही जिल्लाको छप्रामा आठ जनाको मृत्यु भएको थियो भने केही गम्भीररूपमा बिरामी भएका थिए।
भारतमा विषाक्त मदिराको सेवन अत्याधिक हुने गरेको र त्यसले हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ। सन् २०१६ देखि राज्यमा मदिरामाथि प्रतिबन्ध लगाइएको भए पनि मदिरा बिक्री र सेवनबाट हताहतिका यस्ता घटना रोकिएका छैनन्।












