पाल्पामा ६ हजार बढी मतदाता थपिए
पाल्पा, साउन २८ : पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन्। गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको...
पाल्पा, साउन २८ : पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन्। गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली सङ्कलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो।
उक्त नामावलीमा साढे छ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले बताए। उनका अनुसार तीन हजार एकसय ४० महिला र तीन हजार पाँच सय ३० पुरुष थपिएका हुन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९९ हजार छ सय ९० मतदाता रहेकामा पछिल्लो थप विवरणसहित दुई लाख छ हजार तीन सय ६० मतदाता पुगेको हो।
यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १३ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले आयोगबाट तोकिएको समय सीमामा थप समय उपलब्ध गराउन निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ।
सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य २० गतेदेखि स्थगित गरेको थियो। स्थानीय तह निर्वाचनसम्म करिब १० हजार मतदाताको १८ वर्ष उमेर नपुगेका कारण अन्तिम मतदाताको सूचीमा नाम समावेश भएको थिएन।












