दौड प्रतियोगिता सुरू गर्दै नेता केसीले भने- विकासका लागि युवा उद्यमशीलता आवश्यक

काठमाडाैं, साउन २१ : नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताएका छन्।
काठमाडौं महानगरपालिका–१४ स्थित कुमारी क्लबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको दौड प्रतियोगिताको शुभारम्भ गर्दै नेता केसीले युवा वर्गलाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए।
युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए। विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील क्लवले गरेका कार्यको सरहाना गर्दै नेता केसीले देश विकासको अभियानमा युवा वर्गमा रहेका सीप तथा क्षमता उपयोग गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले अन्तर्राष्ट्रिय युवा दिवसले समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष मोहनकुमार बस्नेतले सरकारको व्यवस्थापकीय कमजोरीले शिक्षित युवाले समेत आफ्नो योग्यता र क्षमता अनुसारको काम तथा रोजगारी नपाई विदेशिनुपर्ने बाध्यता रहेकामा चिन्ता व्यक्त गरे।
क्लबका पूर्वअध्यक्षत्रय नकुल हमाल ठकुरी, बालकृष्ण मैनाली र जगन्नाथ अर्याल तथा समाजसेवी कल्पना थापालगायतले युवा उद्यमशीलता विकास, युवा रोजगारी प्रवर्धन, विकास निर्माणमा युवा सहभागिताको खाँचो औँल्याए। क्लबका सचिव मनोज राजभण्डारीले क्लबले युवा वर्गको नेतृत्व विकास, युवा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आएको जानकारी गराए।
क्लबका अध्यक्ष रामकुमार बस्नेतले युवा वर्गलाई जीवनोपयोगी सीप र कौशलको विकास गरी उनीहरुको जीविकोपार्जन हुन सकेमा मात्र देश विकासमा सहयोग पुग्ने बताए। यसैबीच पुरुषतर्फ पाँच किलोमिटर दौडमा दीपसन ठकुरी, माइकल गरभुजा र शिशिर बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भई रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगिताका संयोजक सागर मल्लका अनुसार महिलातर्फ तीन किलोमिटर दौडमा सिवानी विष्ट, पूजा विक र इशा मोर क्रमशः पहिलो, दोस्रो र तेस्रो भई रु. सात हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार प्राप्त गरे।












