Kathmandu Press

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

म्याग्दी, साउन २८ : म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको...
राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

म्याग्दी, साउन २८ : म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। भू–तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो। कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको लागत अनुमानसहित डिपिआर तयार गरिएको जानकारी दिए। 

'भू–गर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययन गरेर तयार पारेको डिपिआर यसै वर्षदेखि कार्यान्वयन गर्दैछौँ', उनले भने, 'आकस्मिक भू–तथा पहिरो नियन्त्रण कार्यक्रममार्फत राहुघाटको पहिरो रोकथाम गर्ने योजना छ।' नाली बनाएर भल व्यवस्थापन गर्ने, गल्छी संरक्षण र वृक्षरोपण गरेर बायो इञ्जिनीयरिङ गरिने अधिकृत मिश्रले बताए। राहुघाट सल्लेरी वनको पाखोबाट खस्ने पहिराका कारण ३० घरधुरीको बसोबास रहेको राहुघाट बस्ती जोखिममा परेको स्थानीय लक्ष्मण चालिसेले जानकारी दिए। 

Hardik ivf

यो पहिराका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सवारी साधन आवतजावतमा समस्या भएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना निर्माणका क्रममा तीन वर्षअघि सडक विस्तार गरिएपछि करिब ६० मिटर लामो र ५० मिटर चौडा  पाखो बग्न थालेको थियो। 

कमजोर भू–धरातल भएको पाखोमा डोजर चलाएर सडक खनिएको  मूलको पानीले भेल आएको र नजिकै राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणका लगि  बिस्फोटक पदार्थ पड्काउँदा भएको कम्पनले पहिरो आएको थियो  । एक वटा घर पहिराले भत्किएको छ। बर्खामा ठूलो पानी पर्दा राहुघाटका बासिन्दा गलेश्वर, घुमाउने ताल, तिल्लेनी र गायत्री मन्दिरमा गएर सुत्ने गरेका छन्। पहिरो गएपछि गलेश्वर–पिप्ले खण्डको करिब तीन किलोमिटर सडक निर्माण रोकेर घुमाउनेताल–पिप्ले वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ। 

प्रकाशित मिति: १२:३० बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्