नक्कली चेक बनाएर बैंकबाट झिकियो १९ लाखभन्दा बढी रकम
काठमाडौं, मंसिर ११ : नक्कली चेक बनाएर जनता बैंकको बानेश्वर शाखाबाट १९ लाखभन्दा बढी रुपैयाँ चोरी भएको छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई प....
काठमाडौं, मंसिर ११ : नक्कली चेक बनाएर जनता बैंकको बानेश्वर शाखाबाट १९ लाखभन्दा बढी रुपैयाँ चोरी भएको छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, जनता बैंकको बानेश्वर शाखाबाट गोपालमान राज बाहकको खाताबाट नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको हो। त्यसमध्ये १८ लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले बताए।
आज पत्रकार सम्मेलन गरेर पैसा निकाल्नमा संलग्न रहेको ६ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरुले पटकपटक गरी पैसा निकालेको र यसमा कर्मचारीको संलग्नता हुन सक्ने उनले बताएका छन्। ‘कर्मचारीको संलग्नता तथा अन्य व्यक्तिबारे अनुसन्धान गरिरहेका छौं,’ एसएसपी सुवेदीले काठमाडौं प्रेससँग भने।
पक्राउ पर्नेमा काभ्रेको पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङको गलकोटकी सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे रहेका छन्। उनीहरु अहिले भने काठमाडौंमा बस्दै आएका छन्।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। यसका लागि पाटन उच्च अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति समेत लिइसकेको एसएसपी सुवेदीले बताए।






