Kathmandu Press

आज चुनावी प्रचारको अन्तिम दिन, रातिदेखि मौन अवधि

काठमाडौं, मंसिर ११ : उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भएकाले आज बिहानैदेखि उम्मेदवार र सहयोगी प्रचारप्रसारमा लागेका छन्। आज रातिदेखि १२ बजेदेखि ....

आज चुनावी प्रचारको अन्तिम दिन, रातिदेखि मौन अवधि
फाइल फोटो

काठमाडौं, मंसिर ११ : उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भएकाले आज बिहानैदेखि उम्मेदवार र सहयोगी प्रचारप्रसारमा लागेका छन्। आज रातिदेखि १२ बजेदेखि मौन अवधि सुरू हुनेछ।

मंसिर १४ गते एउटा प्रतिनिधिसभा सदस्यसहित ५२ पदका लागि उपनिर्वाचन हुँदै छ। रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।

त्यसका लागि नेकपाबाट रवीन्द्र पत्नी विद्या भट्टा, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, विवेकशील नेपालीकी जमुना शर्मा, समाजवादी पार्टीका धर्मराज गुरुङ प्रतिस्पर्धामा छन्। विशेष गरेर नेकपाकी भट्टराई र कांग्रेसका पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

त्यस्तै, भक्तपुर–१ ‘ख’, दाङ–३ ‘ख’ र बागलुङ–२ ‘ख’मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। भक्तपुर र दाङमा नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ। त्यस्तै, बाग्लुङमा भने नेकपाको समर्थनमा राजमो र कांग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

त्यस्तै, मेयर, उपमेयर, अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्ष गरी ४८ पदमा स्थानीय तहमा उपनिर्वाचन हुँदै छ। स्थानीय तहमा भने उम्मेदवार हाबी देखिन्छन्। पार्टीभन्दा पनि उम्मेदवारले निर्वाचन प्रभावित पारिरहेका छन्।

यसका लागि निर्वाचन आयोगले आजसम्म प्रचारप्रसारको समय दिएको छ। आज राति १२ बजेदेखि मौन अवधि सुरू हुनेछ। मौन अवधिमा कुनै पनि उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छैनन्।

यसैबीच कास्की–२ मा भने निर्वाचनका लागि स्कुल विदा दिइएको छ। पोखरा महानगरपालिकाले मंसिर १२ देखि १४ गतेसम्म शिक्षण संस्थामा विदा दिएको छ।

सबै स्थानमा निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार, सबै मतदान केन्द्रमा सुरक्षाकर्मीसहित निर्वाचन टोली पुगिसकेको छ।

प्रकाशित मिति: १०:१८ बजे, बुधबार, मंसिर ११, २०७६