सरकार र निजी मेडिकल कलेजबीच सहमति, अतिरिक्त शुल्क समायोजन गरिने
काठमाडौं, मंसिर ११ : मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्न सहमत भएका छन् । मंगलबार मध्यरातमा शिक्षा, विज्ञान तथा प्रव....

काठमाडौं, मंसिर ११ : मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्न सहमत भएका छन् । मंगलबार मध्यरातमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भएर विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन हुने भएको हो ।
सहमतिअनुसार विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क बुधबारदेखि नै समायोजन हुनेछ । पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूले प्रतिबद्धता जनाएका छन्। दोस्रो निर्णयमा निर्धारित शुल्कभन्दा बढी रकम लिएका कलेजहरूले मंसिर ११ गते बुधबारदेखि नै बढी लिएको शुल्क फिर्ता वा समायोजनको कार्य सुरू गर्ने भनिएको छ।
शैक्षिक सत्र २०७४/७५ र २०७५/०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने सहमतिमा उल्लेख छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकहरुको सहभागिता थियो । यसअघि विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले १५ दिनको अल्टिमेटम दिएको थियो ।











