अध्ययन भन्छ- पर्याप्त व्यायाम गर्दैनन् किशोरकिशोरी
विश्वभरि पाँच किशोरकिशोरीमध्ये चार जनाले पर्याप्त मात्रामा शारीरिक गतिविधि पाउँदैनन्। विश्व स्वास्थ्य संगठनका अनुसार विशेषगरी बालिकालाई अझ ध....
विश्वभरि पाँच किशोरकिशोरीमध्ये चार जनाले पर्याप्त मात्रामा शारीरिक गतिविधि पाउँदैनन्। विश्व स्वास्थ्य संगठनका अनुसार विशेषगरी बालिकालाई अझ धेरै व्यायाम आवश्यक छ। शारीरिक कसरत नगरे स्वास्थ्यमा गम्भीर प्रभाव पर्दछ।
किशोरकिशोरीको शारीरिक गतिविधिबारे पहिलो विश्वव्यापी अध्ययनमा संयुक्त राष्ट्र संघले उनीहरूको “स्क्रिन टाइम” घटाएर हिँडडुल गर्न लगाउनुपर्नेमा जोड दिएको छ।
“हामीले धेरै काम गर्नुपर्छ नभए यी किशोरकिशोरीको स्वास्थ्य असाध्यै कमजोर हुनेछ,” अध्ययन प्रतिवेदनका सह लेखक लियान राइलीले भनिन्।
लान्सेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थ जर्नलमा प्रकाशित सो प्रतिवेदन सन् २००१ देखि २०१६ सम्म एक सय ४६ देशमा ११ देखि १७ वर्ष उमेर समूहका १६ लाख विद्यार्थी सम्मिलित सर्वेक्षणको तथ्याङ्कमा आधारित छ। अध्ययनको क्रममा ८१ प्रतिशत सहभागीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको पाइएको छ। मापदण्ड अनुसार दैनिक आधा घण्टा हिँड्ने, खेल्ने, साइकल चलाउने वा कुनै खेल खेल्नु गर्नुपर्छ।
यो नतिजा चिन्ताजनक छ। नियमित शारीरिक गतिविधिले स्वास्थ्यलाई धेरै फाइदा दिन्छ। मुटु तन्दुरूस्त हुनुका साथै श्वासप्रश्वास प्रणालीमा पनि चुस्त हुन्छ। यसले कार्यसम्पादन बढाउनुका साथै सिकाइ प्रक्रियालाई पनि सहज बनाउँछ। विश्वभरि बढिरहेको मोटोपनको समस्या समाधान गर्ने कसरतलाई महत्वपूर्ण मानिएको छ।
तर शारीरिक गतिविधि बढाउने महत्वाकांक्षी लक्ष्य तय गरिए पनि १५ वर्षको अवधिमा खासै परिवर्तन नभएको अध्ययनले पत्ता लगाएको छ।
“हामीले कुनै उपलब्धि देखिरहेका छैनौं,” राइलीले भने। प्रतिवेदनले किशोरकिशोरीको शारीरिक निष्क्रियताका कारणबारे अध्ययन नगरे पनि “विद्युतीय क्रान्तिले उनीहरूको चालको स्वरूप परिवर्तन गरेको हुनसक्ने र उनीहरूलाई धेरै समय बस्न, कम सक्रिय हुन प्रोत्साहन गरेको” हुनसक्ने उनले सुझाव दिइन्।
प्रतिवेदनका लेखकहरूले कमजोर पूर्वाधार र असुरक्षाले पनि किशोरकिशोरीलाई विद्यालय आउँदाजाँदा हिँडडुल गर्न वा साइकल चलाउन कठिनाइ भएको औंल्याएका छन्। किशोरकिशोरीमा शारीरिक निष्क्रियतया सबैं क्षेत्र र सबै देशमा बढ्दै गएको अध्ययनले पत्ता लगाएको छ। बंग्लादेशमा ६६ प्रतिशत र दक्षिण कोरियामा ९४ प्रतिशत किशोरकिशोरी शारीरिक रूपमा निष्क्रिय छन्।
“प्राय: सबै स्थानमा शारीरिक निष्क्रियता उच्च छ,” प्रतिवेदनका प्रमुख लेखक रेजिना गुथोल्डले भनिन्। धेरै देशहरूमा ८० देखि ९० प्रतिशत किशोरकिशोरीले शारीरिक गतिविधिको मापदण्ड पूरा नगरेको उनले बताइन्।
किशोरी बालिकाको सवालमा परिस्थिति अझ गम्भीर छ। विश्वभरि मात्रै १५ प्रतिशत किशोरीले शारीरिक सक्रियताको मापदण्ड पूरा गरेका छन्। विश्वभरि २२ प्रतिशत किशोर बालक शारीरिक रूपमा सक्रिय छन्। विशेषगरी अफगानिस्तान, समोआ, टोङ्गा र जाम्बियामा बालिकाहरू बालकभन्दा कम सक्रिय छन्।
सन् २००१ देखि २०१६ बीचमा बालकको शारीरिक सक्रियतामा केही सुधार आएको छ। निष्क्रियता स्तर ८० देखि घटेर ७८ प्रतिशत भएको छ भने बालिकाको शारीरिक निष्क्रियता ८५ प्रतिशत छ। धेरै जसो देशमा लैङ्गिक अन्तरका कारण बालिकाले घरमै बस्नुपर्ने र खेलकुद गर्न नहुने साँस्कृतिक दबाब छ। घरबाहिर निस्कँदा उनीहरूको सुरक्षालाई लिएर पनि चासो र चिन्ता हुने गर्छ।
तर धेरैजसो शारीरिक गतिविधिको प्रवर्द्धन बालकप्रति लक्षित गरिएको गुथोल्डले बताइन्। अमेरिका र आयरल्यान्डमा सबैभन्दा ठूलो लैङ्गिक अन्तर देखिने उनले बताइन्। त्यहाँ बालक र बालिकाको सक्रियतामा १५ प्रतिशतको भिन्नता छ। “अमेरिकामा सन् २००१ यता बालकको शारीरिक निष्क्रियता सात प्रतिशतले घटेको छ भने बालिकाको सवालमा कुनै परिवर्तन भएको छैन,” उनले भनिन्।
अमेरिकाले शारीरिक गतिविधि बढाउनलाई सन् २०१० मा महत्वकांक्षी राष्ट्रिय योजना ल्याएको छ। तर केही कारणले सबै प्रयासहरू बालकसम्म मात्रै पुगिरहेका छन्। स्वस्थ जीवन प्रोत्साहन गर्ने प्रयास स्वरूप केही देशले सन् २०१८ र २०३० सम्म वयस्क र युवाको शारीरिक निष्क्रियता १५ प्रतिशतले घटाउने लक्ष्य लिएका छन्।
तर गएको १५ वर्षमा किशोरकिशोरीको शारीरिक निष्क्रियतामा उल्लेखनीय सफलता हात पार्न नसकेकाले यो लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण रहेको उनले बताइन्। “यो उमेर समूहमा मोटोपनको वृद्धि रोक्न चाहन्छौं भने हामीले अझ धेरै काम गर्नुपर्छ र शारीरिक सक्रियताको अझ राम्रो स्तर प्रवर्द्धन गर्नुपर्छ,” उनले भनिन्।