Kathmandu Press

सानो नेपालभित्रको रहस्य : ‘जैमिनि दर्पण’ 

बागलुङ जिल्लालाई सानो नेपालका रूपमा चिनिन्छ। किनभने बागलुङको भौगोलिक नक्सा र नेपालको नक्सा झन्डै मेल खान्छ। यही सानो नेपाल भित्रको दक्षिण भेकमा जैमिनि...
सानो नेपालभित्रको रहस्य : ‘जैमिनि दर्पण’ 
Hardik ivfHardik ivf

बागलुङ जिल्लालाई सानो नेपालका रूपमा चिनिन्छ। किनभने बागलुङको भौगोलिक नक्सा र नेपालको नक्सा झन्डै मेल खान्छ। यही सानो नेपाल भित्रको दक्षिण भेकमा जैमिनि नगरपालिका अवस्थित छ।

जैमिनी ऋषि वेदव्यासका शिष्य थिए। जैमिनीले योगसाधना र तपस्या गरेर ज्ञान फिँजाएको पुण्यभूमिका रुपमा जैमिनिलाई लिइन्छ। उनै ऋषिको नामबाट जैमिनि नगरपालिकाको नामकरण गरिएको हो। 

पवित्र कालिगण्डकीको मध्यभागमा जैमिनि अवस्थित छ। प्राकृतिक छटाले शोभित यो धर्ती आफैंमा मनोरम छ। जैमिनिका हरेक डाँडाकाँडाबाट हिमशृंखला छ्यांगै देख्न सकिन्छ।

गाजाको दह, माईस्थान, जैमिनी घाट, हाडिकोट, रुम्टा, गाइथुने घाट, ब्याडथला, नेपाने, चिलाउने खर्क, सतीढुंगा, नाम्दुक, डाँडाखानी, देउराली, पुरानो देवीस्थान गाउँजस्ता स्थलले आकर्षक पर्यटकीय गन्तव्यको सम्भावना बोकेका छन्। हाँडिकोट अनि गाजाको धुरी जसले सूर्योदय र सूर्यास्तको अवलोकनका लागि रोमाञ्चकता थप्न सक्छन्। 

वास्तवमै भौगोलिक, जैविक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण छ जैमिनि। स्लेट ढुंगाका छानायुक्त गाउँ, हरिया डाँडापाखा, खोलानाला, झरना, मनमोहक हिमाली दृश्य, विभिन्न जातजातिको जीवनशैलीले यसै पनि सबैलाई आकर्षित गर्छ। मौलिक संस्कृतिले जैमिनि क्षेत्रमा विशिष्ट स्थान बनाएका छन्।

मठमन्दिर, देवीदेवताका थान धेरै रहेका कारण विभिन्न उत्सव र मेलाले जैमिनिमा भिन्नै रौनक थपिदिएका छन्। जैमिनी आफैंमा जातीय रूपमा समेत आकर्षणको केन्द्र छ। परम्परागत संस्कृति, झ्याउरे (झाम्रे), सालैजो, सोरठी, चुड्का र लोक दोहोरीको झन् भिन्नै मजा जैमिनिमा लिन सकिन्छ। 

कालीगण्डकी करिडोर सडकबाट भारत र चीनसँग जोडिएका कारण जैमिनि विशेष महत्वको छ। कालिगण्डकी कोरिडोरको मुटुमा पर्ने भएकाले पनि विशेष जैमिनिको महत्वको रहेको हो। यसले जैमिनि भविष्यमा पर्यटकका लागि मन बहलाउने, टहलिने र केही समय सुस्ताउन गतिलो आकर्षण बन्न सक्छ।

यही सम्पूर्णताको सँगालो बोकेर गत साता ‘जैमिनि दर्पण’ प्रकाशनमा आएको छ। गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दर्पणको विमोचन गरे। इसापूर्व तीन हजार वर्षपहिले पूर्वीय मीमांसा दर्शनका प्रणेता जैमिनि ऋषिले योगसाधना र तपस्या गरेको पुण्यभूमिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्य ‘जैमिनि दर्पर्ण’को रहेको छ। 

अर्को महत्वपूर्ण पाटोका रुपमा समग्र गण्डकीलाई नै ‘गणितको केन्द्र’ बनाउनुपर्ने चर्चा यस पुस्तकमा छ। पूर्वीय दर्शनका अध्येता डा.प्रमोद ढकालले जैमिनि दर्पणमार्फत यस्तो प्रस्ताव अघि सारेका हुन्। आफ्नो एक लेखमा जैमिनि ऋषिले ज्ञान फैलाएको कालिगण्डकी क्षेत्रको अंग्रेजी नामकरण ‘द ल्यान्ड अफ म्याथम्याटिक’ राख्नुपर्ने प्रस्ताव उनले जैमिनि दर्पणमा गरेका छन्।

डा. ढकालले विष्णुको गण्ड अर्थात् गालाबाट उत्पत्ति भएको हुनाले, पर्वतको गालाबाट उत्पत्ति भएको हुनाले, लज्जावती झारलाई गण्डकारी भनिन्छ, त्यो झारजस्तै पत्रैपत्रका पहाडबाट खसेका नदी जोडिएर बनेका हुनाले गण्डकीको नामकरण भएको हुन सक्ने विविध आधारसहितको प्रस्तुति दर्पणमा गरेका छन्। 

यस्तै गण धातुबाट बन्ने शब्द वा गणना, अंक, ज्योतिषको माध्यमबाट जैमिनि ऋषिले यही गण्डक क्षेत्रबाट विश्व समुदायलाई गणितको नाम दिएका हुनाले यसको नाम गण्डकी हुन सक्ने आधार र कारण पनि ढकालको लेखमा छ। यति मात्र नभई ब्रह्माका अनुयायी ऋषिहरूको तपोभूमि भएकाले, व्याकरण, गणित र वर्गीकरणको ज्ञानको प्रसारक क्षेत्र भएकाले विश्वमा यसले गण्डक वा गण्डकीको प्रसिद्धि पाएको भन्ने अवधारणालाई पुष्टि गरिदिएको अनेक कारणले यस क्षेत्रको अंग्रेजी नाम ‘द ल्यान्ड अफ म्याथम्याटिक’ राख्नुपर्छ भन्ने दाबी उनले गरेका छन्।

जैमिनी नगर सेवा समाज काठमाडौँद्वारा प्रकाशित यस पुस्तकमा जैमिनी नगरपालिकाको विविधता झल्काउने तथ्यांकगत चिनारी र नामकरणको वर्गीकरण गरिएको छ।

जैमिनीमा जन्मिएर विभिन्न क्षेत्रमा रहेर योगदान दिएका २३ जना लेखकका लेख दर्पणमा संग्रहित छन्। जैमिनि क्षेत्रको सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटनको विकास एवं प्रवर्धनमा दर्पण सहयोगीसिद्ध हुने अपेक्षा र विश्वाससहित जैमिनि सेवा समाजले दर्पण प्रकाशनमा ल्याएको हो। प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले भरिपूर्ण कालीगण्डकीको क्षेत्रबारे जान्न, बुझ्न, अध्ययन अनुसन्धान गर्न पुस्तक साँच्चै उपयोगी हुनेछ।

‘जैमिनि ऋषिका नामबाट नगरको नामकरण हुनु महत्वपूर्ण’

जैमिनि दर्पर्ण विमोचनका क्रममा शिक्षा मन्त्री देवेन्द्र पौडेलले जैमिनि ऋषिले तपस्या गरेको स्थानका आधारमा जैमिनि ऋषिको नामबाट जैमिनि नगरपालिकाको नामकरण हुनु महत्वपूर्ण रहेको भनाइ राखे।

‘जैमिनि धार्मिक, संस्कृतिक, कृषि, भूगोल, पर्यटन सबै दृष्टिले महत्वपूर्ण छ। जैमिनि दर्पणले त्यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण पथप्रदर्शन गर्ने विश्वास छ,’ पौडेलले भने।

प्रतिनिधिसभा सदस्य सूर्य पाठकले पुस्तक जैमिनिको बौद्धिक सम्पत्ति रहेको बताउँदै जैमिनिकै हितमा प्रयोग गर्न जनप्रतिनिधिहरूलाई अनुरोध गरे।

जैमिनि नगरपा प्रमुख नरबहादुर पुनले जैमिनि दर्पणले यस क्षेत्रको समृद्धिमा मार्गदर्शन गर्ने भनाइ राखे। उनले जैमिनी नगरलाई आत्मनिर्भर बनाउन अभियानमा लागेको बताउँदै समाजले प्रकाश गरेको पुस्तकलाई आफूहरुले स्वामित्व लिने बताए। उनले जैमिनिमा विज्ञहरूको सम्मेलन तथा लगानीकर्ताहरूको सम्मेलन गर्ने उद्देश्य रहेको समेत बताए।

जैमिनि उपप्रमुख हरिहर शर्माले जैमिनि दर्पणलाई स्थानीय पाठ्यक्रममा समेटिने योजना रहेकाले यसमा सहयोग गर्न सम्पूर्ण जैमिनिवासीलाई आग्रह गरे। पूर्वनगर प्रमुख इन्द्रराज पौडेलले जैमिनीको विशेषता बोकेको पुस्तक त्यस क्षेत्रको संवर्धनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

दर्पण सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, जिल्ला शिक्षा समन्वय समिति काठमाडौंका प्रमुख नन्दलाल पौडेल, महिला नेत्री बलावती शर्मा, पूर्वविद्यार्थी नेताहरू हिमाल शर्मा, भीम श्रीषलगायतले जैमिनि क्षेत्रलाई चिनाउन पुस्तकको विशेष भूमिका रहने चर्चा गरे।

समालोचक डा. दीनबन्धु शर्माले कृति समीक्षा गर्दै जैमिनि दर्पण बहु आयामिक रहेको टिप्पणाी गरे। उनले अनुसन्धान र खोजमूलक तथ्यहरु समावेश गरेर दर्पण तयार गरिएकाले विशेष आलेखहरु सन्दर्भ सामग्री बन्नेसमेत बताए।

जैमिनि नगर सेवा समाजका अध्यक्ष हरि आचार्यले जन्मथलोको सेवा र विशुद्ध सहयोगी भावनाले जैमिनि दर्पण प्रकाशन गरेको बताए।समाजका सदस्य विष्णु शर्मा आचार्य र

पुस्तकका प्रधानसम्पादक शेषनाथ पौडेलले ‘जैमिनि दर्पण’ प्रकाशनका लागि सहयोग गर्ने सहृदयी महानुभावहरूलाई धन्यवाद दिए। 

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्