Kathmandu Press

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

म्याग्दी, साउन २६ : धान बालीमा गभारो रोगको प्रकोप देखिएको म्याग्दीका किसान चिन्तित बनेका छन्।मलविना नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न...
म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

म्याग्दी, साउन २६ : धान बालीमा गभारो रोगको प्रकोप देखिएको म्याग्दीका किसान चिन्तित बनेका छन्।

मलविना नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन्। जिल्लाको रघुगङ्गा, मङ्गला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारो देखिन थालेको छ।

रघुगङ्गा गाउँपालिकाका किसानले लगाएको धान बालीमा गभारोको प्रकोप देखिन थालेको गाउँपालिकाले जनाएको छ। सिँचाइ पर्याप्त हुने ठाउँमा कम र सुक्खा स्थानमा गभारोको प्रकोप बढी रहेको गाउँपालिका कृषि शाखाले जनाएको हो।

रोपाइँ गर्ने समयमा पानी नपरेपछि मुस्किलले धान रोपाइँ भएका ठाउँमा गभारोको प्रकोप देखिएको कृषि प्राविधिक सविना पौडेलले जानकारी दिइन्।

त्यसैगरी पश्चिमी म्याग्दीको मङ्गला गाउँपालिकामा पनि गभारोले सखाप पार्न थालेपछि स्थानीय धानको बिरुवा नै उखेलेर गाउँपालिकामा ल्याएर फालिदिएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। बानियाँका अनुसार मङ्गलाको सिमलचौर, रणवाङ, बाबियाचौर, छिस्वाङ, सेराफाँट, पोकलगायत धान धेरै उत्पादन फाँटमा गभारोले धानबाली सखाप पारेको छ।

गाँउपालिकाका जनप्रतिनिधि र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी विषादी वितरण गरिएको र गभारो नियन्त्रणका लागि स्थानीय कृषकलाई आवश्यक जानकारी दिइएको बानियाँले बताए।

तातो मौसम गभारो प्रजातिका किराका लागि अनुकूल हुने विज्ञको भनाइ छ। गभारोका कारण धान उत्पादनमा ह्रास आउँछ। यो समय गभारो मात्र नभई धानमा अन्य समस्यासमेत देखिने भएकाले किसान सचेत रहनुपर्ने प्राविधिकले बताएका छन्।

गभारोको प्रकोप देखिएको धानको बोट पहिला रातो हुने, जरा कुहिने र बोटै सुकेर मर्ने गरेको ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए।

कृषि प्राविधिकका अनुसार गभारो नियन्त्रणका लागि धानका बेर्नाको पातको टुप्पोमा देखिएका फूललाई नष्ट गर्नुपर्छ। त्यसैगरी धान काटिसकेपछि ठुटा जलाइदिने गरेमा पनि अर्को वर्ष गभारो लाग्न कम हुन्छ।

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्