Kathmandu Press

पहिराले दुई पटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा

गलकाेट, साउन २५ : गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्। ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति...
पहिराले दुई पटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा

गलकाेट, साउन २५ : गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्। ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो। थुनिएको खोला एक घण्टापछि आफैँ खुलेको थियो।

आज बिहान १२ बजे पनि पहिरोले खोला पुनः करिब आधा घण्टा थुनिएको ढोरपाटन नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र पुनमगरले जानकारी दिए। अहिले पनि निरन्तर पहिरो खसिरहेको हुँदा तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको अध्यक्ष पुनले बताए।

अहिले पनि पहिरो निरन्तर झरिरहेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। पहिरोले भुजीखोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयको भागदौड चलेको थियो। खोला थुनिए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख राजेश शर्मा अधिकारीले जानकारी दिए।

पहिरोसहित आएको बाढीले पचासौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको स्थानीयवासीको भनाइ छ। पहिरोका कारण राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक खुलाउन तत्काल सम्भव नभएको वडाध्यक्ष पुनको भनाइ छ। सडक पूर्णरूपमा ठप्प भएपछि ढोरपाटनदेखि बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा जाने यात्रु घर फर्किन बाध्य भएका छन्।

प्रकाशित मिति: २०:०९ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्