Kathmandu Press

ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता

एथेन्स, साउन  २५ : एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन्। दुर्घटनामा परेका...
ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता

एथेन्स, साउन  २५ : एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन्। दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ।

रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रीक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायु सेनाको एक हेलिकप्टरले हराइरहेका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी राखेको ग्रीसका अधिकारीहरूले बताएका छन्।

यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो।

टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो शहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेका डुङ्गामा ६० देखि ८० जना सवार रहेको ग्रीसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
 
सन् २०१५ मा शरणार्थी र आप्रवासीहरूको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रीस पुगिसकेका छन्। सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकांशले युरोपका अन्य देशहरूमा आफ्नो यात्रा जारी राखेका थिए।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्