उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित छन् : प्रचण्ड
हेटाैँडा, मंसिर १० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिर १४ मा हुन लागेको उ....
हेटाैँडा, मंसिर १० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको बताएका छन्।
मकवानपुरको हेटाैँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले उपनिर्वाचन भएको स्थानमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रति जनता सकारात्मक देखिएकाले परिणाम फेरि नेकपाकै पक्षमा हुने दाबी गरेका हुन्।
उनले पार्टीको निर्णयानुसार अब आफूले अली बढी पार्टी र सङ्गठनमा जोडबल दिने बताए। प्रचण्डले संविधानमा उल्लेख भएअनुसारको समाजवाद निर्माण गर्न नेकपाका दुवै अध्यक्षले भूमिका खेलिरहेको बताए।
उनले प्रदेश ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह पनि गरे। अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै उनले राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए।
वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको प्रचण्डको भनाइ छ।






