बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव
ललितपुर, साउन २५ : गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ। अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा...
ललितपुर, साउन २५ : गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ। अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ।
‘राम्रो भवन नभएकाले दिइनुपर्ने जति उपचार सेवा दिन सकिरहेका छैनौँ,’ अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले बताए । उनले भने, ‘हामीले व्यवस्थित भौतिक संरचना अभावका कारण कयौँ उपचार सेवा सुरुआतनै गर्न पाएनौँ । भवन राम्रो भए प्रसूति तर्फ शल्यक्रियाको सेवा दिने थियौँ।’ हालसम्म सो अस्पतालले शल्यक्रियारहित प्रसूति सेवा दिँदै आइरहेको दर्नालले जानकारी गराए।
‘आधुनिक भवन बनाउन सरकारसँग दश करोड मागेकोमा दुई करोड पाउने आश्वासन पाएका छौँ । सो रकम भएपनि शल्यक्रिया सेवा दिन सक्थ्यौ,’ उनले थपे।’
अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए। उनले भने,‘अस्पतालमा थाइराइड परीक्षण गर्ने प्रविधिको समेत अभाव छ।’
उक्त अस्पताल कहिले स्थानीय त कहिले प्रदेश सरकार मातहत चल्ने भन्ने अन्यौलले उपचार सुविधा दिन कठिनाइ भईरहेको बजगाईंको बुझाइ छ। सो अस्पताल हाल वाग्मती प्रदेश सरकार मातहतको रहँदा अस्पताललाई चाँहिने जस्तो उपयुक्त भवन नरहेका कारण बाल तथा स्त्रीरोगसम्बन्धी सेवालाई प्रभावकारी बनाउन नसकेको प्रशासन शाखा प्रमुख हीराबहादुर कार्कीले बताए।
उनले भने, ‘भवनसँगै चिकित्सकको पनि अभाव छ ।’ अस्पताल अहिले १५ शैयाको । साथै २५ शैयाको स्वीकृत पाइसकेको र पछि पुनः एक सयसम्मको हुने योजनामा अघि बढिरहेको कार्कीले जानकारी गराए। चापागाउँ अस्पतालले बहिरङ्ग, २४औँ घण्टे विभिन्न आकस्मिक तथा परिवार नियोजन सेवा, रगत र कोरोना परीक्षण, क्षयरोग सम्बन्धित खकार जाँच, एक्स–रे एवं भिडियो एक्स–रे हुँदै दुई एम्बुलेन्समार्फत बिरामीलाई सेवा दिइरहेको दर्नालको भनाइ छ।
विगतमा ‘बज्रबाराही सामुदायिक अस्पताल’ को नामले सञ्चालन भएको सो अस्पताल हाल भने ‘बज्रबाराही चाँपागाउँ अस्पताल’ को नामले उपचार सेवा दिइरहेको छ। सो अस्पतालमा गोदावरी, दक्षिण ललितपुरका वाग्मती तथा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिकाका हुँदै मकवानपुरवासी समेत सेवा लिन आउने गरेका बजगाईँले सुनाए। अस्पतालमा कोभिड परीक्षण गर्ने पिसिआर प्रयोगशालासहित अक्सिजन उत्पादन गर्ने प्लान्टकोसमेत व्यवस्था छ।












