Kathmandu Press

मैथिली भाषा–संस्कृतिका लागि साइकल यात्रा

सप्तरी, साउन २५ : सप्तरीका मैथिली अभियानी र मिलाफ नेपालले मैथिलीभाषा, साहित्य, कला–संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आजबाट ‘देवघर साइकलयात्रा २०७९’आरम्भ गरेको छ।छिन्नमस्ता गाउँपालिका–१...
मैथिली भाषा–संस्कृतिका लागि साइकल यात्रा

सप्तरी, साउन २५ : सप्तरीका मैथिली अभियानी र मिलाफ नेपालले मैथिलीभाषा, साहित्य, कला–संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आजबाट ‘देवघर साइकलयात्रा २०७९’आरम्भ गरेको छ।

छिन्नमस्ता गाउँपालिका–१ वीरपुरस्थित भोलाबाबाको मन्दिर, राजविराजस्थित राजदेपीमन्दिर र शक्तिपीठ छिन्नमस्ताको दर्शन गरेपश्चात भारतको वैद्यनाथधामको लागि २७ साइकलयात्री देवघर प्रस्थान गरेका छन्। सप्तरीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको देवघर यात्राको लागि साइकलबाट १० दिनको समय तय गरिएको छ।

नेपाली र भारतीय क्षेत्रको मैथिलीभाषीको सांस्कृतिक सद्भाव र भाषिक सम्मानका लागि यात्रा अभियान गरिएको मिलाफ नेपालले जनाएको छ। मिलाफ नेपालका सचिव विद्यानन्द बेदर्दीका अनुसार टोलीले ठाउँ–ठाउँमा जनजागरण, भाषिक सन्देशमूलक र अन्तक्र्रिया कार्यक्रम गर्ने छ। बिदाइ कार्यक्रममा उपस्थित मिलाफका संस्थापक अध्यक्ष एवम् साहित्यकार देवेन्द्र मिश्रले मैथिलीभाषाको विशेषता र विशिष्टता केन्द्रित विषयवस्तु राखेर सम्पूर्ण बोली–शैलीलाई एकताको सुत्रमा बाँध्ने प्रशंसनीय प्रयास भएको बताए।

अभियान टोलीले ‘मैथिली फूलन इँफुलबारी छियै’ (मैथली फूल होइन, फूलबारी हो) शीर्षकको वृत्तचित्रसमेत निर्माण र सार्वजनिक गरेको सह–संयोजक गजेन्द्र गजुरले जानकारी दिए। मिलाफ नेपाल, राजविराजका अध्यक्ष रमिला साहको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा मिलाफका संस्थापक सदस्य तथा गायिका कञ्चना झाले महेशवाणी गाएर साइकल यात्रीलाई बिदा गरे। 

पहिलो पटक सामूहिक रूपमा ‘मिथिला देवघर साइकलयात्रा’ २०७६ को आयोजना गरिएको थियो। कोभिड–१९ का कारण विगत दुई वर्ष साइकल यात्राको अभियान रोकिएकोमा यो वर्ष पुनःमैथिली भाषाको जनजागरणका लागि साइकलयात्राको अभियानलाई निरन्तरता दिएको टोलीका संयोजक सुभाष वीरपुरियाले बताए।

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्