Kathmandu Press

तनहुँका उत्कृष्ट सामुदायिक वन पुरस्कृत

तनहुँ, साउन २५ : डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ। कार्यालयले आर्थिक वर्ष ०७८/७९ र ०७७/७८ का उत्कृष्ट...
तनहुँका उत्कृष्ट सामुदायिक वन पुरस्कृत

तनहुँ, साउन २५ : डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ। कार्यालयले आर्थिक वर्ष ०७८/७९ र ०७७/७८ का उत्कृष्ट तीन/तीन सामुदायिक वनलाई पुरस्कृत गरेको हो। 

उत्कृष्ट हुन सफल सामुदायिक वनलाई सामुदायिक दिवसका अवसर पारेर आज म्याग्दे गाउँपालिका–२ ज्यानटाङ पधेंरा सामुदायिक वनमा आयोजित कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको छ। आव ०७८/७९ मा बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित वाराही सामुदायिक वन उपभोक्ता समूह द्वितीय र व्यास नगरपालिका–११ स्थित बूढीराम्चे सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको छ। 

आव ०७७/७८ मा बन्दीपुर गाउँपालिका–३ स्थित देवीथुम्का सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ पधेंरा खोला सामुदायिक वन उपभोक्ता समूह द्वितीय र बन्दीपुर गाउँपालिका–१ स्थित छपेली सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको छ। 

Hardik ivf

प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। अघिल्लो आवमा कोभिड–१९ सङ्क्रमणका कारण कार्यक्रम गर्न नसकिएपछि आज पुरस्कार वितरण गरिएको उनले बताए। 

वन संरक्षण, संवद्र्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरिएको हो। जिल्लामा ६ सय २१ सामुदायिक वन रहेका छन्।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कृत हुने सामुदायिक वनका प्रतिनिधिलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन्। 

कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले सामुदायिक वनले नेपालको प्रख्याति विश्वमाझ कमाएको चर्चा गर्दै त्यतिले मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताए।म्याग्देका अध्यक्ष श्रेष्ठले वनलाई आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिन आग्रह गरे। उनले वनबाट वन समूहका उपभोक्ताको आयस्तर वृद्धि गर्नेतर्फ लाग्न सुझाव दिए। उपाध्यक्ष घिमिरेले सामुदायिक वन जोगाउन स्थानीयको अपनत्व जागृत गराउनुपर्ने बताए। 

डिभिजन वन प्रमुख काफ्लेले नेपालको वन व्यवस्थापन विश्वकै उत्कृष्ट रहेको र वन संरक्षणमा स्थानीयको योगदान रहँदै आएको बताए। वनलाई समृद्धिसँग जोडेर आयआर्जन गर्नेतर्फ लाग्नुपर्ने बेला आएको उनले बताए। 

दुई सय बिरुवा रोपियो

यसैबीच सामुदायिक वन दिवसका अवसरमा म्याग्दे–२ ज्यानटाङ पधेंरा खोला सामुदायिक वनमा आज दुई सय बिरुवा रोपिएको छ। सामुदायिक वनभित्र निर्माण गरिएको हरितपार्कभित्र विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। 

हरितपार्कभित्रै रूखमाथि घर निर्माण गरिएको छ। यसले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको सामुदायिक वनका अध्यक्ष अर्जुन रानाभाटले जानकारी दिए। हरित पार्कलाई हरियाली बनाउन विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ। 

समन्वय समितिका प्रमुख, म्याग्दे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, डिभिजन वनका प्रमुखसहित कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुले सो अवसरमा बिरुवा रोपेका थिए।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्