Kathmandu Press

उपसभामुखले संसद् अधिवेशन सुरु भएपछि राजीनामा गर्ने

काठमाडौं, मंसिर १० : उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसद्को हिउँदे अघिवेशन सुरु भएपछि राजीनामा गरी नयाँ सभामुख चुन्न नेकपालाई मार्गप्रशस्त ग....

उपसभामुखले संसद् अधिवेशन सुरु भएपछि राजीनामा गर्ने
फाइल फोटो

काठमाडौं, मंसिर १० : उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसद्को हिउँदे अघिवेशन सुरु भएपछि राजीनामा गरी नयाँ सभामुख चुन्न नेकपालाई मार्गप्रशस्त गर्ने भएकी छिन् । 
प्रधानमन्त्रीको प्रस्ताव बमोजिम राजीनामा गरेर तत्काल मन्त्री बन्न अस्वीकार गरेकी उनले राष्ट्रपति विद्यादेवी भण्डारीसामु नेकपाका दुवै अध्यक्षलाई आफू नेकपाबाट सभामुख बन्न बाधक नबन्ने जानकारी गराएको नेकपा स्रोतको दाबी छ । 

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंसिर ४ गते मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्यका सिलसिलामा राष्ट्रपति कार्यालय, शितल निवास पुगेका थिए । त्यतिबेला डा. तुम्बाहाङ्फे भने नियमित जस्तैसंसद् सचिवालयस्थित कार्यकक्षमै थिइन् । उनलाई राष्ट्रपति कार्यालयबाट तत्काल बोलावट भयो । उनी शितलनिवास पुगिन्, जहाँ नेकपाका दुवै अध्यक्षसहित राष्ट्रपति बसिरहेकी थिइन् ।  

पहिलेदेखि नै ‘मन्त्रीका लागि उपसभामुख नछाड्ने’ सार्वजनिक अभिव्यक्ति दिँदै आएकी उनलाई राष्ट्रपति भण्डारीकै सामु प्रधानमन्त्री ओलीले राजीनामा गरेर मन्त्री बन्न प्रस्ताव गरेका थिए तर डा. तुम्बाहाङ्फेले तत्काल उपसभामुख छाडेर मन्त्री बन्दा राम्रो नहुने जवाफ दिएकी थिइन् ।

डा. तुम्बाहाङ्फे नेकपाभित्र राष्ट्रपति भण्डारीनिकट मानिन्छिन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई पनि उपसभामुख छाडेर मन्त्री बनाउन मनाइसकेका थिए । त्यसपछि डा. तुम्बाहाङ्फेले कुनै पनि हालतमा राजीनामा नगर्ने भन्ने अडान राखिरहनसक्ने अवस्था नै थिएन । उपसभामुखमा डा. तुम्बाहाङ्फे कायमै राखेर सभामुख नेकपाले गुमाउन नहुनेमा चारै जना एकमत थिए ।

‘आजै उपसभामुखबाट राजीनामा गरेर आजै मन्त्री बन्नु शोभनीय देखिँदैन,’ उपसभामुख तुम्बाहाङ्फेको भनाइ थियो, ‘संसद् अधिवेशन सुरु भएपछि सभामुख चयन प्रक्रिया सुरु हुने बेलामा राजीनामा दिन्छु । सभामुख पनि रिक्त भएकोबेला उपसभामुखले पनि राजीनामा दिँदा जननिर्वाचित प्रतिनिधिसभा नेतृत्वबिहीन हुन्छ । मैले अहिले नै राजीनामा दिएर त्यो रिक्तता नबनाऊँ भन्ने मात्र हो ।’

उपसभामुख तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा गरिसकेपछि मात्र मन्त्री बनाउँदा उचित हुने बताउँदै भनेकी थिइन्, ‘मलाई सभामुख नदिए पनि नेकपालाई सभामुख बन्न बाटो थुनिने गरी म उपसभामुख भइराख्न चाहन्न । यसमा ढुक्क भए हुन्छ ।’ 

उपसभामुख तुम्बाहाङ्फेले यसअघि आफू सभामुखको लागि योग्य उम्मेद्वार भएको बताउँदै आएकी थिइन् । डा. तुम्बाहाङ्फे दुई अध्यक्ष राष्ट्रपति कार्यालयमा छलफल गरिरहँदा सिंहदरबारबाट त्यहाँ पुगेकी थिइन् । त्यहाँबाट सीधै पुनः सिंहदरबार फर्किइन् र दिनभरि काम गरेकी थिइन् ।

त्यस दिन मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न प्रधानमन्त्रीकहाँ पुगेको भन्ने काठमाडौंप्रेसको प्रश्नमा भनेकी थिइन्, ‘म दिनभरि सिंहदरबारमै बसेर काम गरिरहेकी छु । एकछिन कामले बाहिर गएकी  थिएँ । प्रधानमन्त्रीज्यूसँग कुरा भएको छैन । मन्त्रिमण्डल पुनर्गठनबारे मलाई केही जानकारी छैन । म काम गरिरहेकी छु । अहिले मेरो राजीनामाको कुरै छैन ।’

सभामुख कृष्णबहादुर महरा यौन दुराचारको अभियोगमा परी पद त्याग्न बाध्य भएपछि उपसभामुख डा. तुम्बाहाङ्फे कार्यबाहक सभामुख भएकी छिन्। 

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, मंसिर १०, २०७६