Kathmandu Press

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा

काठमाडाैं, साउन २३ : मध्यपुरथिमि नगरपालिकामा यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाइने भएको छ।...
मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा

काठमाडाैं, साउन २३ : मध्यपुरथिमि नगरपालिकामा यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाइने भएको छ। नगरपालिकाले सोमबार सरोकारवालाहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।

पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन साउन २७ गते परेको छ। नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकै दिन दुई पर्व मनाउन व्यावहारिक नभएको बताएको थियो। उनीहरुले ज्योतिषशास्त्रअनुसार तिथिमिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भए पनि नेवारी संस्कृतिमा कतिपय अवस्थामा सो अव्यावहारिक हुने गरेको विषय उठान गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

Hardik ivf

पात्रोअनुसार साउन २६ गते बिहान पौने ११ बजेदेखि २७ गते बिहान सवा सात बजेसम्म पुर्णिमा तिथि रहेको छ। सोअनुसार २६ गते नै जनैपूर्णिमा मनाउने निर्णय गरिएको नगरप्रमुख श्रेष्ठले बताए छलफलमा वडा नं ८ बोडेको ऐतिहासिक एवं धार्मिक महत्वको निलबाराही देवगणको द्यः प्याखँ गाईजात्राको भोलिपल्ट द्धितीयादेखि प्रदर्शन गर्नुपर्ने परम्परा रहेकोले सोही अनुसार गर्न २७ गते गाईजात्रा मनाउनु पर्ने सुझाव द्यः प्याखँका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले दिएका थिए।

त्यसैगरी थिमिको लाय्कू भैलः प्याखँका गुरु अर्जुन श्रेष्ठले पनि ललितपुर र भक्तपुरका ज्योतिष र संस्कृतिकर्मीसँग छलफल गरी भैलः प्याखँ पनि साउन २८ गते प्रदर्शन गर्ने तयारी भएको जानकारी दिँदै स्थानीयवासीले सोहीअनुसार तयारी गरेको बताए। छलफलमा नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष, स्थानीय संस्कृतिकर्मी र थिमिमा ज्योतिषविद्को सहभागिता रहेको थियो। 

यसअघि भक्तपुर नगरपालिकाले पनि तलेजुका पुजारीसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्