वर्तमान सरकारले नेपालको भूमि फिर्ता गराएरै छाड्छ : अध्यक्ष दाहाल
काठमाडौं, मंसिर १० : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई ....

काठमाडौं, मंसिर १० : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन् ।
नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उनले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताए । अध्यक्ष दाहालले भने,“सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ । नेपालको भूिम फिर्ता भएरै छाड्छ ।” नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै भने,“अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।”
दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो । उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको स्पष्ट पारे । अध्यक्ष दाहालले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताए ।
उनले थपे, “प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु ।” अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले विजय हासिल गर्ने दाबी समेत गरे ।











