भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण
चितवन, साउन २३ : भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ। भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक...
चितवन, साउन २३ : भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ।
भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार यही साउन ३० गतेबाट विद्युतीकरण अन्तर्गत निर्माणको काम सुरु गर्न लागिएको हो।
यो परियोजना नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले हेर्दै आएको छ । दाहालका अनुसार निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई परेको छ । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ । परियोजनाका इञ्जिनीयर बिनोद सापकोटाका अनुसार डलरमा बोलपत्र भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु दुई अर्ब ५० करोड हाराहारी हुन आउँछ । यो रकम भरतपुर र पोखरामा आधा–आधा खर्च हुने छ । उनले भने, ‘विभिन्न निकायसँग समन्वय गरेर कामअघि बढाउन महानगरले अगुवाइ गरेका कारण काम छिटो सुरु गर्ने अवस्थामा पुगेका छौँ।’
भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोक देखि केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ। बसपार्कबाट गोन्द्राङ् सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिने छ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए।
सन् २०२२ जनवरीबाट लागू हुनेगरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हरेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो।
महानगरका शहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समसया हुने गरेको छ । यससँगै दुई सडकमा पोल ढलेर हुने समस्या अन्त्य हुने छ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीले विद्युत्का कारण भोगेका समस्या धेरै कम हुने र सुन्दर बन्ने बताउनुभयो । नेपाल टेलिकमसँग समेत सहकार्य गरेर काम अघि बढाउन परियोजनालाई भनिएको अधिकारीको भनाइ छ । यससँगै निजी क्षेत्रका तारसमेत भूमिगत गर्न सकिने गरी आयोजनाले काम गर्न लागेको छ।












