Kathmandu Press

जनशक्ति अभावले उपचारमा सास्ती

महोत्तरी, साउन २३ : महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती  बेहोर्नुपरेको छ।भेन्टिलेटर नहुँदा उपचार नपाएर...
जनशक्ति अभावले उपचारमा सास्ती

महोत्तरी, साउन २३ : महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती  बेहोर्नुपरेको छ।

भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो। यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो।

वर्षेनी सर्पदंशका गम्भीर प्रकृतिका बिरामीलाई सघन उपचार गर्नपर्ने भएपछि सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले अन्यत्र रेफर गर्ने गरेको र बिरामीको बाटैमा मृत्यु हुने गरेका घटना बर्दिवास भेगमा बाक्लै हुने गरेका छन्।

Hardik ivf

बढ्दो जनअसन्तोषको सम्बोधनका लागि गए साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट बर्दिवास अस्पतालले आइसियु भेन्टिलेटर उपकरण प्राप्त गरेको छ।

यद्यपि भेन्टिलेटर प्रयोगमा नल्याइँदा यो सेवा प्रारम्भ हुन सकेको छैन। बर्दिवास अस्पतालले यसपालि प्राप्त गरेको भेन्टिलेटर पहिलोे भने होइन। यसअघि गत वर्ष कोभिड–१९ सङ्क्रमण निकै बढेका बेला विभिन्न संस्थाले प्रदान गरेका भेन्टिलेटर दक्ष प्राविधिकको अभाव तत्सम्बन्धी व्यवस्थापनको बेवास्ताले बर्दिवास अस्पतालमा त्यत्तिकै थन्केर रहेका छन्। 

बर्दिवास अस्पतालमा तीन भेन्टिलेटर भएका छन्। साधन थपिँदै गए पनि त्यसको प्रयोगमा आवश्यक पर्ने जनशक्ति र अन्य व्यवस्थापन नगरिँदा आम सर्वसाधारणका लागि ती उपयोगविहिन बनेका बर्दिबास–१४ का बासिन्दा हरि दाहाल बताउँछन्। 'उपकरण प्रयोगमा ल्याउन तत्काल स्थानीय सरकारले पहलकदमी लिन पर्‍यो,' उनी भन्छन्। 

तीन भेण्टिलेटरको लागि एमजिडिपी चिकित्सक, तीनभन्दा बढी मेडिकल अफिसर र चारदेखि पाँच  नर्स आवश्यक पर्ने बर्दिवास अस्पतालका चिकित्सक बताउँछन्। यसको समुचित प्रयोगका लागि एनेस्थेसिया (बेहोस बनाउने विधि) को  विज्ञ टोली नै चाहिने डा. किशोर अधिकारी बताउँछन्। भेन्टिलेटर प्रयोगमा ल्याउन प्रयोगशालाको स्तरोन्नतिदेखि अनेकौं आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने चिकित्सक बताउँछन्। 

सघन उपचार प्रारम्भ गर्न आवश्यक प्रबन्धबारे बर्दिवास नगरपालिका नेतृत्वसँग सम्वाद भईरहेको बर्दिवास अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मा बताउँछन्। 'यो उपचार सेवा प्रारम्भ गर्न के के आवश्यक छ रु हामी विज्ञसँग सल्लाहमा छौं,' शर्मा भन्छन्, 'यथासक्य चाँडो स्रोतसाधन जुटाएर सेवा प्रारम्भ गरिनेछ।'

यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद क्षत्रीले पनि जनस्वास्थ्य सरोकारका विषय प्राथमिकतामा रहेको बताएका छन्। 'हामीसँग भेन्टिलेटर थिएनन्। अब त्यो प्रबन्ध भएको छ,' क्षत्री भन्छन्, 'अब यो सेवा सञ्चालनका लागि अन्य आवश्यक चाँजो मिलाइन पर्छ, स्थानीय तहले कति गर्नसक्छ त्यो गरिनेछ र प्रादेशिक र संघीय सरकारसँग पनि समन्वय गरिन्छ।'

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्