Kathmandu Press

जहाज बिग्रिएको भन्दै टरिगाउँ विमानस्थलमा उडान कटौति

घोराही, साउन २३ : दाङको टरिगाउँ विमानस्थलमा उडान कटौति गरिएको छ।दैनिक एउटा उडान हुने विमानस्थलमा घटाएर सातामा तीन वटा बनाइएको छ। नेपाल वायुसेवा...
जहाज बिग्रिएको भन्दै टरिगाउँ विमानस्थलमा उडान कटौति

घोराही, साउन २३ : दाङको टरिगाउँ विमानस्थलमा उडान कटौति गरिएको छ।

दैनिक एउटा उडान हुने विमानस्थलमा घटाएर सातामा तीन वटा बनाइएको छ। नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर ‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै उडान हुने गरेको छ।

'जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौं,' उनले भने, 'पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौं। यात्रुको चाप बढेपछि प्रत्येक दिन पनि भएको थियो, तर अहिले घटाउनु पर्ने अवस्था आएको छ।'

अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेको उनको भनाइ छ। अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उनले बताए।सरदर १०-१२ यात्रु आवतजावत गर्ने गरेका छन्।

अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा आठ हजार आठ सय १० रुपैयाँ छ भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ। काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको दुई सय बढी हुन्छ।

काठमाडौँमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा दुई सय बढी लाग्ने गरेको उनको भनाइ छ।

अहिले विमानस्थलमा निगमको १९ सिटे टुइनअटर आउने गर्छ। ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ। त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ।

अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ। त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ। (रासस)

प्रकाशित मिति: ०७:२६ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
प्रतिक्रिया दिनुहोस्