विश्वप्रकाशले भने- सरकारलाई सच्चिन दबाब दिन कम्युनिष्ट कार्यकर्ताले कांग्रेसलाई भोट दिनुपर्छ
पोखरा, मंसिर ९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न स....

पोखरा, मंसिर ९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
कास्कीको पोखरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले सरकारले नक्सा छापेर सार्वजनिक गर्न नसके त्यो कामका लागि कांग्रेस तयार रहेको बताए। प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न नसकेको उनको भनाइ थियो।
भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशंका मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिए। सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशंका गरिएको उनले बताए।
राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। “यो हाम्रा लागि ऐतिहासिक अवसर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ। यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ,”उनले भने।
पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यो अवधिमा महङ्गी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाए। भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उनले बताए।
उनले वर्तमान सरकारलाई सच्चिन दबाब दिनका लागि कम्युनिष्ट कार्यकर्तालाई पनि यस पटक कांग्रेसको रुख चिह्नमा मतदान गर्नु पर्ने बताए।











