Kathmandu Press

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

रसुवा, साउन २२ : जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। 

सङ्घले आज जारी गरेको विज्ञप्तिमा काठमाडौँबाट अस्ति साउन २० गते नै सात जनाको चिकित्सक एवं स्वास्थ्य सहायकको एक टोली त्यसतर्फ प्रस्थान गरेको उल्लेख छ । स्वास्थ्य शिविर साउन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन रहने जनाइएको ।
 
झण्डै चार हजार तीनसय ८० मिटरको उचाइमा रहेको यस तीर्थस्थलमा जाने तीर्थालुलाई लेक लाग्ने, टाउको दुख्ने, भोक नलाग्ने, स्वाँस्वाँ हुने, वाकवाक लाग्ने, बान्ता हुने, अस्वभाविक थकान महसुस हुने, नभएको वस्तु पनि भएजस्तो लाग्ने र एउटा वस्तुलाई दुई वटा देख्ने जस्ता समस्या आउने गर्दछ। 

Hardik ivf

उक्त धार्मिक मेलामा हजारौँको सङ्ख्यामा तीर्थयात्री गोसाइँकुण्ड पुग्ने गर्दछन् । विश्वव्यापी महामारीका कारण विगत दुई वर्ष नेपाल सरकारले कुनै पनि भेला, जमघट नगर्नु, नगराउनु भन्ने सूचना जारी गरेका कारण स्वास्थ्य शिविर सञ्चालन हुन सकेको थिएन।
 
स्वास्थ्य शिविरका लागि गोसाइँकुण्डमा स्वास्थ्य सेवा पु¥याउनुका साथै तीर्थयात्रीलाई गोसाइँकुण्ड एवं लेक लाग्ने रोगबारे लेखिएको सूचनामूलक पर्चा सामग्री पनि वितरण गरिने सङ्घका उपाध्यक्ष तथा गोसाइँकुण्ड कार्यक्रमका संयोजक कुमार रानाभाटले जानकारी दिए। सङ्घले लामो समयदेखि प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

गोसाइँकुण्डलगायत अन्य हिमाली क्षेत्रमा भएका धार्मिकस्थल पाँचपोखरी, दूधकुण्ड तथा दामोदरकुण्ड जाने तीर्थयात्रीले उच्च हिमाली क्षेत्रका विषयमा, लेक लाग्ने रोगका विषयमा जानकारी लिन चाहेमा आवश्यक जानकारी र सूचना प्रदान गर्ने गरिएको पनि उनले उल्लेख गरे  ।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्