Kathmandu Press

चार करोड सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

भोजपुर, साउन २२ : झण्डै रु चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ।...
चार करोड सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

भोजपुर, साउन २२ : झण्डै रु चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ। बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो। 

पुल निर्माणमा हालसम्म रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ। पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक÷पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय  तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए। 

Hardik ivf

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार पुल २०७० सालमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीका प्रमुख दयाराम लामिछानेले पुल बनाउन नसक्ने लिखित जबाफ दिएपछि ठेक्का रद्द गरिएको शाहले बताए ।

‘हामीले कार्यालयको तर्फबाट गर्न सक्ने काम गरेका हौँ । निर्माण कम्पनीलाई पटक÷पटक काम चाँडो गर्न आग्रह गर्दा गर्न नसक्ने जानकारी दिएको छ,’ उनले भने। पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै कम्पनीले कामलाई अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको रु ७७ लाख रोकेर कालोसूचीमा राख्नका लागि पत्र पठाएको शाहको भनाइ छ। धरौटी नरोक्न तथा कालोसूचीमा नहाल्न कम्पनीले पाटन अदालतमा मुद्दा हालेको शाहले बताए ।

मुद्दा परेपछि काम नगर्न अदालतले आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिनुभयो । ‘हामीले बैंकमा रहेको धरौटी बापतको रकम रोक्का गरेर कालो सूचीमा हाल्ने प्रक्रिया थालेका छौँ,’ उनले भने ।

पुल निर्माणका  लागि छ पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुङ्गाबाट यात्रा गर्न बाध्य छन् । तत्कालीन समयमा सडक डिभिजन कार्यालय धनकुटा र निर्माण कम्पनीबीच सम्झौता भएको भए पनि पछि उक्त पुल सडक डिभिजन कार्यालय तुम्लिङटार मातहात आएको बताइएको छ। 

पुलको डिजाइनमा समेत त्रुटी रहेको पाइएको छ । यहाँ सुरुमा १६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर १७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो । प्राविधिकले डिजाइन गरे भन्दा करिब ७२ मिटर छोटो रहेको पाइएको छ । ‘घाटको जम्मा लम्बाइ २३४ मिटर छ । सम्झौता १७२ मिटर लामो बनाउन भएको छ,’ उनले भने।

पुलले भोजपुरको षडानन्द नगरपालिका–६ सतिघाट र सङ्खुवासभाको मनकामनालाई जोड्ने छ । पुल बनाउन सङ्घीय सरकारले रु २४ करोड उपलब्ध गराएको थियो। 

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्