Kathmandu Press

जीर्ण बन्दै खुला कारागारका संरचना

बाँके, साउन २२ : बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन्।नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि...
जीर्ण बन्दै खुला कारागारका संरचना

बाँके, साउन २२ : बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन्।

नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि निर्माण भएको खुला कारागारको साढे दुईतले १८ कोठे प्रशासनिक भवन प्रयोगमा नआउदा जीर्ण हुँदै गएको हो। त्यहाँ दुई वर्ष अघि निर्माण भएको ३६ कोठे भवन पनि प्रयोगमा आउन सकेको छैन। 

खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले बताए।

Hardik ivf

उनका अनुसार कारागार सञ्चालन हुन नसक्दा भवन जीर्ण बन्दै गएका हुन्। दुई तिहाई कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीलाई निश्चित शर्तको आधारमा खुला कारागारमा राख्ने अवधारणा अनुसार बाँकेको गनापुरमा उक्त कारागार बनाइएकोे हो।

यसका लागि सञ्चालन कार्यविधि नबन्दै निर्माण भएका भौतिक संरचना अहिले बेवारिसे अवस्थामा पुगेका हुन्। 

खुला कारागार सञ्चालनका लागि सुझावहरु पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको कारागार प्रमुख  सोनकरले बताउनुभयो। खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन्।

दुवै भवनमा कैदीका लागि छ–छ वटा शौचालय छन्। त्यहाँ  निर्मित कारागार भवन र प्रशासनिक भवन एक चौकीदारको भरमा छोडिएको छ।  संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ विघा र तत्कालिन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ। 

उक्त जमिन त्यहाँ राखिने कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो। 'कैदीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो,' उनले भने।

खुल्ला कारागारका संरचना प्रयोगविहीन भईरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदी÷बन्दी बस्न बाध्य  छन्। तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदी÷बन्दीलाई ब्यवस्थापन गर्न समस्या भएको कारागार प्रमुख  सोनकरले बताउनुभयो।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्