ओली सरकार राणा शासनको नयाँ संस्करण : पौडेल
तुलसीपुर, मंसिर ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सामन्ती राणा शासनको नयाँ संस्करण भएको आरोप....
तुलसीपुर, मंसिर ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सामन्ती राणा शासनको नयाँ संस्करण भएको आरोप लगाएका छन्।
सोमबार बिहान तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार राणा शासककै शैलीमा अघि बढेको आरोप लगाएका हुन्।
‘राणा शाषणको पथमा हिँडेर कम्युनिष्टहरुले देशलाई सामन्ती बाटोमा लान खोजिरहेका छन्,’ उनले भने,‘एक पछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्याउँदै सरकार अघि बढेको छ।’
पौडेलले भने द्वन्द्वकालमा ठूलो लडाई लडेर कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको तर वर्तमान सरकारले त्यसलाई उल्टोबाटो सामन्तबादतर्फ लैजान खोजेको बताए।
‘यो सरकार वंश, परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको छ,’ पौडेलले भने ‘यो सरकारको कुनै विचार, सिद्धान्त, निष्ठा आधार छैन।’ उनले पतिको मृत्यु पछि पत्नीलाई उम्मेदवार बनाउनु त्यसैको सूचक भएको बताए।






