नौ लाखमध्ये ११ हजार कम्पनी मात्रै कोषमा दर्ता
काठमाडौं, मंसिर ९ : निजी क्षेत्रमा रहेका श्रमिकलाई समेटेर रोजगारमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सरकारले तोकेको समायावधि सकिन लागेको छ....
काठमाडौं, मंसिर ९ : निजी क्षेत्रमा रहेका श्रमिकलाई समेटेर रोजगारमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सरकारले तोकेको समायावधि सकिन लागेको छ। तर, त्यसमा आवद्ध हुने रोजगारदाता कम्पनीको संख्या न्यून रहेको छ।
समयावधि सकिँन लाग्दा अपेक्षा गरेअनुसार श्रमिक कोषमा आवद्ध हुन नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रोजगारदाता तथा श्रमिकले सामाजिक सुरक्षा कोष नै बुझ्न नसक्दा सोचेअनुसार आवद्ध भएनन्।
सरकारले २०७५ साल मंसिर ६ गते सुभारम्भ गरेको सामाजिक सुरक्षा कोष कार्यक्रम गत साउन १ गतेदेखि औपचारिक रुपमा कार्यान्वयनमा ल्याइएको हो। साउन १ देखि दर्ता सुरू गरेको सरकारले यसअघि असोज मसान्तसम्मको समय सीमा तोकेको थियो। त्यो अवधिसम्म नगन्य संख्यामा दर्ता भएपनि मंसिर १४ सम्म समय बढाएको थियो।
सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईका अनुसार आइतबारसम्म कोषमा ११ हजार कम्पनी दर्ता भएका छन्। जसमा एक लाख १२ हजार श्रमिक आवद्ध छन्।जबकि नेपालमा नौ लाख २२ हजार उद्योग, प्रतिष्ठान दर्ता गरेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। त्यसमा ३४ लाख श्रमिक कार्यरत रहेका छन्। सरकारले दर्ताका लागि दिएको समयसिमा मंसिर १४ गते सकिँदैछ। तर, दर्ता हुनेको संख्या न्यून रहेको छ।
निजी क्षेत्रमा कार्यरत श्रमिक पेन्सन तथा बिमाबाट बञ्चित भएपछि लगानीमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको हो। योजनाबारे नबुझी नकारात्मक टिका–टिप्पणी गर्दा श्रमिक आकर्षित नभएको मन्त्रालयको भनाइ छ।
यो नेपाल सरकार र श्रम मन्त्रालयको कार्यक्रम भएकाले कुनै गडबडी नहुने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको भनाइ छ। ‘सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा भविष्यका लागि सहज हुन्छ, कोषको रकम दुरुपयोग हुदैन्,’ उनले आग्रह गरे, ‘ढुक्क भएर आवद्ध हुनुस्।’
यसमा श्रमिकलाई उपचार खर्च, अशक्त भत्ता र ६० वर्ष पुगेपछि पेन्सनलगायत सुविधा दिने व्यवस्था रहेको छ। कोषले सामाजिक सुरक्षा योजनामा सहभागी भएका श्रमिक, स्वरोजगारमा संलग्न रहेका व्यक्ति, सरकारी सेवामा बहाल रहेका व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई तोकिए बमोजिम ऋणको समेत व्यवस्था गरेको छ।
यो संख्या बढ्ने प्रवक्ता भट्टराईको भनाइ छ। ‘हाल कोषमा सूचिकृत हुन आउने श्रमिक तथा रोजगारदाताहरूको संख्या बढ्दै गइरहेको छ, अन्तिम मितिसम्म सबै रोजगारदाता तथा श्रमिकहरू कोषमा आउनुहुन्छ भन्ने विश्वास लिएका छौं,’ प्रवक्ता भट्टराईले भनिन्।
कोषमा आवद्ध हुने अन्तिम मितिसम्म रोजगारदाता तथा श्रमिकको संख्यामा बृद्धि नभए दर्ताका लागि समय थप गर्ने सम्भावना रहेका छ।






