जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु

सल्यान, साउन २१ : सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। शारदा नगरपालिका-४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हाे।
शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका-४ साइला कम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए। जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो।
उनीहरूका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका-९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओली २३ वर्षीय छोरा प्रकाश ओली र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका-४ साइला कम्दका चार गरी आठ जना बिरामी भएका थिए।
जसमध्ये पाँच जनाको प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।












