प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीले दिए धर्ना
काठमाडौं, मंसिर ९ : निर्माण व्यवसायीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सोमबार न....

काठमाडौं, मंसिर ९ : निर्माण व्यवसायीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सोमबार निर्माण व्यवसायीले धर्ना दिएका हुन्। ‘सार्वजनिक खरिद नियमावली, २०७६’को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनमा गरेका व्यवसायीले सोमबार बिहान एक घन्टा धर्ना दिएका हुन्।
हातमा कालोपट्टी बाधेर धर्नामा बसेका निर्माण व्यवसायीले विकास आयोजनाको म्याद थप, बैंक क्रेडिट लाइनलगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन धर्नामा बस्नुपरेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरिद नियमावली संशोधन गर्ने प्रतिवद्धता जनाएको चार महिना बितिसक्दा पनि कार्यान्वयन नभएकाले आन्दोलन थालिएको महासंघका अध्यक्ष रवि सिंहले बताए। व्यवसायीको माग पूरा नभए विकास, निर्माणका कामहरू समेत ठप्प पारिने उनको भनाइ छ।
यसअघि नै महासंघले नियमावली संशोधन नभए दोस्रो चरणअन्तर्गत माइतीघर मण्डलमा कालो झण्डासहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठूला इक्विपमेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेन्डर बहिष्कार गर्ने, विकास निर्माणका काम पूर्णरुपमा ठप्प पार्नेलगायतका विरोध कार्यक्रम सार्वजनिक गरिसकेको छन्।











