उपनिर्वाचनका लागि सेना र सशस्त्र प्रहरीकाे दैनिक गस्ती
डोटी, मंसिर ९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि राेक्न उपनिर्वाचनका लागि उम्मेदवारका सम्पर्क कार्यालयमा समेत सुरक्षा व....

डोटी, मंसिर ९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि राेक्न उपनिर्वाचनका लागि उम्मेदवारका सम्पर्क कार्यालयमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ।
मंसिर १४ मा डोटीको आदर्श गाउँपालिका–२ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ। यसका लागि उम्मेदवार, दलका कार्यालय र उम्मेदवारका सम्पर्क कार्यालय पनि सुरक्षा प्रदान गरिएको जनाएको छ।
जिल्लाको निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार, नै सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यो विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र रहेको ठाउँ हो। यस अघि विप्वल कार्यकर्ताले डोटीका विभिन्न गाउँमा विस्फोट समेत गराएका थिए। त्यसैले पनि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, डोटीका अनुसार, निर्वाचन सुरक्षा कार्ययोजना बनाई मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। उपनिर्वाचनका लागि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ टेकनारायण पौडेलले बताए। उपनिर्वाचनका लागि पाँच स्थानमा अस्थायी सुरक्षा शिविर राखिने तयारी भएको उनले बताए।
निर्वाचनस्थल र आसपासका क्षेत्रमा चौबिसै घन्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्ने योजना छ। निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचनका अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। ‘निर्वाचन अवधिका लागि हामीले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएका छौँ, यसका लागि म आफैँ स्थलमा खटिनेछु,’ उनले भने।
मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्ने योजना रहेको उपरीक्षक देउवाले बताए। निर्वाचनका समयमा जिल्लामा रहेका सरकारी कार्यालय तथा स्थानीय तहका सवारी साधन पनि सुरक्षाकर्मीले प्रयोग गर्ने योजना बनाइएको छ।
निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउन तथा मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख नियमित समीक्षामा रहेको प्रजिअ पौडेलले बताए। ‘शान्तिपूर्ण तथा भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायका प्रमुख लागि परेका छौँ, ढुक्कसँग मतदान गरे हुन्छ, डराउनुपर्ने कुनै अवस्था छैन,’ उनले भने।
उपनिर्वाचन हुने वडामा अहिले दैनिकजसो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गस्ती गरिरहेको छ।
तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। वडाध्यक्ष पदका लागि सत्तारूढ नेकपाबाट रामबहादुर बोहरा, कांग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझा र स्वतन्त्रका तर्फबाट भूमिसिंह खड्काले उम्मेदवारी दिएका छन्।
निर्वाचनमा मुख्यगरी नेकपाका बोहरा र कांग्रेसका साउदबीच प्रतिस्पर्धा देखिएको छ। यो वडामा दुई हजार पाँच सय मतादाता छन्।











