मलेसिया पठाउन पैसा लिने एजेन्ट एक लाख २० हजारसहित पक्राउ
काठमाडौं, मंसिर ९ : वैदेशिक रोजगारको लागि मलेसिया पठाउने भन्दै पैसा लिइरहेको अवस्थामा एक जेना एजेन्टलाई एक लाख २० हजारसहित पक्राउ गरिएको छ।
....

काठमाडौं, मंसिर ९ : वैदेशिक रोजगारको लागि मलेसिया पठाउने भन्दै पैसा लिइरहेको अवस्थामा एक जेना एजेन्टलाई एक लाख २० हजारसहित पक्राउ गरिएको छ।
वैदेशिक रोजगार विभागको टोलीले काठमाडौंको सिनामंगलस्थित नोभा म्यानपावरको कार्यालय भवननजिकैबाट ताप्लेजुङ घर भइ बुढानिलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीय कैलाश लिम्बूलाई नियन्त्रणमा लिएको हो। उनले सिन्धुलीका झलकबहादुर विक र पोष्टराज विकबाट विदेश पठाइ दिने भन्दै एक लाख २० हजार लिएको अवस्थामा नियन्त्रणमा लिएको विभागले जनाएको छ।
उनले दुवै दाजुभाइलाई मलेसिया पठाउने भन्दै यस अघि ८० हजार लिएका थिए। त्यसपछि भिसा लागेकाले एक लाख ६० हजार थप मागेका थिए। दुवै दाजुभाइ पैसा लिएर काठमाडौं आएपछि श्रम स्वीकृति समेत नभएको थाहा पाएपछि विभागमा उजुरी गरेका थिए।
उनीहरुको उजुरीकै आधारमा कैलाशलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ। नेपाल सरकारले मलेसियामा वैदेशिक रोजगारमा पठाउनको लागि शून्य लागतमा जान पाउने गरी मलेसियन सरकारसँग सम्झौता गरेको छ। सम्झौता कार्यान्वयन गर्नको लागि विभागले पछिल्लो समयमा अनुगमन गरिरहेको छ।
अहिले वैदेशिक रोजगारमा जाने युवाबाट वैदेशिक रोजगार कम्पनीले कार्यालयमा नभइ बाहिरबाटै पैसा लिइरहेको विभागमा उजुरी आइरहेको जनाएको छ। जसले गर्दा विभागले टोली खटाएको जनाएको छ।











