गृहमन्त्री खाणसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
काठमाडाैं, साउन २० : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेका छन।गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको...
काठमाडाैं, साउन २० : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेका छन।
गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेकाे जनाइएकाे छ।
'नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।
उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए। अन्य छिमेकी मुलुक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो। भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताए।
सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले जानकारी गराएका थिए।
जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने भन्दै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताए।
उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुनलागेको जानकारी गृहमन्त्री खाणलाई गराएका थिए।












