Kathmandu Press

कोभिड–१९ सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

कोभिड–१९ सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

काठमाडाैं, साउन २० : कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सिसिएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएका सबै व्यक्ति तथा आइसियु र एचडिसियुमा रहेका बिरामीमध्ये प्राविधिक रुपले सम्भव भएसम्म कोभिड भाइरसको ‘जीन सिक्वेन्सिङ’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

Hardik ivf

यस्तै बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा कोभिड–१९ सङ्क्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो। सङ्क्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोभिडबाट मृत्यु भएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोगसमेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो।

बैठकले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अस्पतालमा  शय्या सङ्ख्या, आइसियु तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर कोभिड–१९ प्रति अझै सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ। सङ्क्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालन गर्न नागरिकमा अनुरोध पनि गरिएको छ।

साथै बैठकले सिंहदरबार एवं भिडभाड हुने सरकारी निकायमा मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको र मास्क लगाए/नलगाएको सन्दर्भमा सिंहदरबारभित्र गृह मन्त्रालयल र अन्य सरकारी निकायमा सम्बन्धित निकायका प्रमुखबाट अनुगमन गर्ने निर्णय पनि गरेको छ।

निर्माण सम्पन्न भएका होल्डिङ सेन्टरको सञ्चालनका लागि तर्जुमा गरिएको सञ्चालन कार्यविधिको मस्यौंदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्