फोसिल फ्युलको उत्पादन बढ्दै गए के होला?
पृथ्वीको सतहको तापक्रम पुर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसमाथि नबढाइ जलाउन सकिनेभन्दा ५० प्रतिशत धेरै “फोसिल फ्युल” उत्पादन हुने सम्भावना बढेको छ।<....
पृथ्वीको सतहको तापक्रम पुर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसमाथि नबढाइ जलाउन सकिनेभन्दा ५० प्रतिशत धेरै “फोसिल फ्युल” उत्पादन हुने सम्भावना बढेको छ।
तेल, ग्याँस र कोइला कति उत्पादन गर्ने भन्नेबारे यसअघि नै योजना बनेका छन् वा बन्ने क्रममा छन्। “ग्लोबल वार्मिङ”लाई नियन्त्रण गर्दै पृथ्वीलाई बस्नयोग्य बनाउने विश्वव्यापी प्रयासलाई यसले क्षति पुर्याउने संयुक्त राष्ट्र संघ र अन्य अगुवा अनुसन्धान समूहले चेतावनी दिएका छन्।
तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न सके “फोसिल फ्युल” को नियोजित उत्पादन सहन सक्नेभन्दा दोब्बर बढि हुनेछ। सन् २०१५ को पेरिस सम्झौता अनुसार सम्भव भए “ग्लोबल वार्मिङ” १.५ डिग्री नभए २ डिग्री सेल्सियसमा रोक्नुपर्छ।
अहिले विश्वको तापक्रम एक डिग्री सेल्सियस मात्रै वृद्धि भएको छ। तर खतरनाक हिटवेभ, बाढी र आँधीहुरी मार सहनुपरेको छ। समुद्र सतहको तिव्र वृद्धिका कारण अझ विध्वंश मच्चिएको छ।
पोहोर साल सार्वजनिक भएको संयुक्त राष्ट्र संघको एउटा प्रतिवेदनमा कार्बन डाइअक्साइड उत्सर्जन विश्वभरि नै सन् २०३० सम्म ४५ प्रतिशतले कम हुनुपर्ने र सन् २०५० सम्म शुन्यम पुर्याउनुपर्ने निष्कर्ष निकालेको छ। यसो भए मात्रै तापक्रम वृद्धि १.५ डिग्रीमा नियन्त्रित गर्न सकिन्छ।
“तापक्रम वृद्धि नियन्त्रणसम्बन्धी पेरिस सम्झौता र कोइला, तेल र ग्याँस उत्पादनबारे देशहरूले बनाएको योजना र नीतिबीच कति अन्तर छ भनेर हामीले पहिलो पटक देखाइरहेका छौं,” स्टकहोम इन्भाइरोन्मेन्ट इन्स्टिट्युटको अमेरिकी केन्द्रका माइकल लजारसले बताए।
संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम र जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान गर्ने चारवटा केन्द्रले तयार गरेको एउटा संयुक्त प्रतिवेदन अनुसार हुँदै गरेको उत्पादन र जलवायुसम्बन्धी पेरिस सम्झौताबीच यो “उत्पादन अन्तर” कोइलाको सवालमा अझ बढि छ।
कोइला उत्पादक देशहरूले सन् २०३० सम्म विश्वको तापक्रम दुई डिग्रीमा सीमित हुनेगरी १५० प्रतिशत र १.५ डिग्रीमा सीमित गर्ने गरि २८० प्रतिशत बढि उत्पादन गर्ने योजना बनाएका छन्। चीन विश्वकै ठूलो कोइला उत्पादक हो। सन् २०१७ मा विश्वको ४० प्रतिशत कोइला चीनममा उत्पादन भएको थियो। सन् २००० देखि २०१३
सम्म घरेलु उत्पादन दोब्बर भयो।
तेल र ग्याँसको सवालमा सन् २०४० सम्म ४० देखि ५० प्रतिशत बढि उत्पादन गर्ने योजना छ। पोहोर साल अमेरिका सबैभन्दा धेरै फोसिल फ्युल उत्पादन गर्यो। अमेरिका धेरै कोइला उत्पादन गर्ने दोश्रो देश हो। यो महिनाको सुरूमा पेरिस सम्झौताबाट हात झिक्ने भन्दै संयुक्त राष्ट्र संघलाई जानकारी गराएको ट्रम्प
प्रशासनले फोसिल फ्युल उत्पादन बढाउन जोड दिएको छ।
पावर प्लान्टबाट उत्सर्जन हुने कार्बन डाइअक्साइड संकलन र भण्डारण गर्ने प्रविधिलाई सहुलियत दिने लगायतका कार्ययोजना अघि बढाएको छ। अघिल्लो महिना प्रकाशित एउटा अनुसन्धान प्रतिवेदन अनुसार सन् २०१८ र यो वर्षको सुरूको १० महिनामा ठूलो फोसिल फ्युल कम्पनीहरूले स्वीकृत गरेको धेरै तेल र ग्याँस परियोजनाले विश्वको तापक्रम दुई डिग्रीभन्दा माथि हुने अनुमान गरेका छन्।
यो अवधिमा अठार वटा प्रमुख लगानी, जसको कुल लागत ५० अर्ब अमेरिकी डलर छ, पेरिस सम्झौताको लक्ष्य पूरा भए मात्रै नाफामा जानेछ। यसमा २१ अर्ब डलर अतिरिक्त पूर्वाधार परियोजनाका लागि लगानी हुनेछ। ती परियोजनाहरू स्वीकृतीको पर्खाइमा छन्।
नयाँ प्रतिवेदनले उत्पादन अन्तर घटाउने थुप्रै उपायहरू औंल्याएको छ र परिवर्तन प्राप्त गर्न कठिन साबित भएका छन्। सहुलियत घटाउनु एउटा उपाय हो। विश्वभरि तेल, ग्याँस र कोइला उत्पादनका लागि दिइने प्रत्यक्ष सहुलियत वार्षिक दशौं अर्ब डलर छ। तेल उत्पादकहरूले अन्वेषण र उत्खनन कार्यलाई सीमित राखेर उर्जाका
अन्य स्वरूपमा पनि जान सक्ने प्रतिवेदनले सुझाव दिएको छ। केहि कर्पोरेसन यो दिशामा अघि बढेका पनि छन्। जलवायु परिवर्तनसम्बन्धी चुनौती बढंदै जाँदा राजनीतिक र सामाजिक दबाव बढेको समयमा यो प्रतिवेदन आएको छ।
पेरिस सम्झौता अन्तर्गत हरितगृह ग्याँस उत्सर्जन कटौती गर्न ६० भन्दा धेरै देशहरूले स्वेच्छिक प्रतिबद्धता अद्यावधिक गर्ने र आउने वर्षको अन्त्यसम्म संशोधित योजना तयार गर्ने प्रतिबद्धता जनाएका छन्। “कोइला, तेल र ग्याँसको उत्पादनमा सरकारले निरन्तर सहयोग समस्याको ठूलो पाटो हो,” स्टकहोम इन्भाइरोन्मेन्ट इन्स्टिट्युटका कार्यकारी निर्देशक मान्स निल्सनले भने,“हामी एउटा गहिरो खाल्डोमा छौं। अब हामीले खन्न छोड्नुपर्छ।”
हरितगृह ग्याँस उत्सर्जन प्रत्येक वर्ष बढिरहेको छ। सन् २०१८ मा ४१.४ अर्ब टन उत्पादन भएको छ। प्रति घण्टा झण्डै ५० लाख टन कार्बन डाइअक्साइड उत्पादन हुन्छ।